News Portal

मेचीनगरका लेखा अधिकृत खनालमाथि खड्काले गरे हातपात

रातोपोस्ट संवाददाता
५११ पटक

झापा, २७ असार । झापाको मेचीनगर नगरपालिकाका कर्मचारी माथि सेवाग्राहीले हातपात गरेको छ । नगरपालिकाको लेखा शाखामा कार्य सम्पादन गरिरहेका लेखा अधिकृत चक्रपाणि खनाल माथि मेचीनगर- १० का निर्माण व्यवसायी कल्याण खड्काले हातपात गरेका हुन् । खड्काले बिहीबार दिउँसो साढे ४ बजे नगरपालिकाका लेखा अधिकृत खनाललाई कार्यकक्षमा नै हातपात गरेका हुन् ।

खड्काले आफ्नो कार्यकक्षमा काम गरिरहेका बेला मेरो चेक किन नबनाइदिएको भन्दै एक्कासि छातीमा समाएर ढेकालेको खनालको आरोप छ । ‘वडा नम्बर ५ को कार्यालयको काम सकेको एक महिना भयो’, निर्माण व्यवसायी खड्काले भने, ‘एक हप्तादेखि चेकका लागि लेखा अधिकृत खनालसँग ताकेता गरे, १६ लाख भुक्तानी लिनु बाँकी छ, अझै चेक नबनाएका कारण आक्रोशमा आउँदा ठेलमठेल भएको हो ’।

यसरी कर्मचारी माथि धाकधम्की र हातपात गर्नु गलत कार्य रहेको मेचीनगर नगरपालिका कर्मचारी एसोसिएसनको अध्यक्ष रविनशन थापामगर बताउँछन् । सो घटनाप्रति मेचीनगर नगरपालिका कर्मचारी एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ ।

कार्यालयको सेवामा तोकिएको काम, कर्तव्य जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेका कर्मचारीहरू माथि आफ्नो व्यक्तिगत आवेश पोख्ने, गाली गलौच गर्ने, हातपात गर्ने जस्ता अवाञ्छित र अमर्यादित क्रियाकलापको विरुद्धमा नेपाल नगरपालिका कर्मचारी एसोसिएसनले विज्ञप्ति निकालेको नेपाल नगरपालिका कर्मचारी एसोसिएसन कोशी प्रदेश अध्यक्ष त्रिलोचन पौडेलले बताए ।

अवच्छिन्न र अमर्यादित क्रियाकलापमा संलग्न व्यक्तिहरू माथि प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही माग गर्दै कर्मचारीहरू लाई आफ्नू जिम्मेवारी सहजतापूर्वक पुरा गर्ने वातावरण तयार गरिदिन भन्दै विज्ञप्ति मार्फत सम्बन्धित सवैमा अपिल गरिएको उनले बताए ।

प्रतिकृया दिनुहोस्