मेचीनगर, साउन २ । सदस्यहरुलाई पूर्वसूचना नदिई पैसा कटौती गरेको विषय समाचार मार्फत सार्वजनिक भएसँगै नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आकस्मिक वैठक बोलाएको छ ।
राहत कोषका लागि सदस्यले दिने योगदान भनेर सदस्यहरुलाई पूर्वसूचना नदिई ८० हजार सदस्यको खाताबाट सात सयका दरले रकम कटौती गरेको विषय हिजो सार्वजनिक भएको थियो । सार्वजनिक भएसँगै एनएमसी सहकारीले सबै शाखाहरुमा सर्कुलर जारी गर्दै सदस्यहरुलाई बुझाउन भनेको थियो ।
जुन विषयमा सामाजिक संजालमा पनि विभिन्न टिका टिप्पणीहरु भइरहेका छन् भने संस्थाले गरेको यस कार्यको आलोचना पनि उत्तिकै मात्रामा भइरहेको छ । जसअन्तर्गत छलफलका लागि अहिले २ बजे वैठक बोलाइएको संस्थाका कर्पोरेट प्रशासन विभाग, प्रमुख चेतन शर्मा पौडेलले जानकारी दिए ।
‘सदस्यहरुले उठाउनुभएको विषयकै छलफलका लागि वैठक बोलाइएको छ, वैठकमा छलफल गरेर एउटा निश्कर्षमा पुग्छौँ,’ उनले भने ‘सदस्यहरुले उठाउनुएको विषयलाई सम्बोधन गर्दै संस्थाको आधिकारिक धारणा सार्वजनिक गर्छौँ ।’