News Portal

धरौटी रकम तिर्न नसक्दा प्रहरी हिरासतमा गयो ज्यान

रातोपोस्ट संवाददाता
१७७ पटक

सर्लाही, ५ साउन । भन्सार कार्यालयले तोकेको धरौटी रकम तिर्न नसकेर प्रहरी नियन्त्रणमा रहेकी महिलाको हिरासतमै ज्यान गएको छ। सर्लाहीको चक्रघट्टा गाउँपालिका-८ की ४० वर्षीया हजरत खातुन साउन १ गतेबाट भारतबाट फर्किंदै थिइन्। भारतबाट आउँदै गरेकी उनलाई सशस्त्र प्रहरीको टोलीले मलंगवास्थित झिलमिलियामाई क्षेत्रमा रोकेको थियो। त्यसपछि सशस्त्र प्रहरी टोलीले उनको खानतलासी लियो। उनीसँग ५७७ ग्राम चाँदीका गरगहना भेटिए। त्यस्तै, पाँच लाख चार हजार रुपैयाँ पनि भेटियो।

उनीसँग भएको पैसाको स्रोत नखुलेको भन्दै सशस्त्र प्रहरीको टोली नियन्त्रणमा लियो। त्यसपछि केही चाँदीका गहाना र नगद रुपैयाँ सहित उनलाई भन्सार कार्यालयको जिम्मा लगायो। भन्सार कार्यालयले जिल्ला प्रहरी कार्यालय, सर्लाहीको हिरासतमा पठायो। सशस्त्र प्रहरीले समाते पनि भन्सार कर्मचारीले छोड्लान् भन्ने उनको आश थियो। त्यसैले साउन १ देखि ३ गतेसम्म प्रहरी हिरासतमा बस्दा खासै चिन्तित देखिएकी थिइनन्। त्यो पैसा चोरी गरेर नलिएको उनको भनाइ थियो।

प्रहरीले उनलाई साउन ४ गते भन्सार कार्यालयमा उपस्थित गरायो। तर, भन्सार कार्यालयले उनीसँग भएको पैसा र गरगहना त नियन्त्रणमा लियो नै थप तीन लाख ३९ हजार धरौटी माग गर्‍यो। उनले त्यत्रो रकम धरौटी राख्न सक्ने अवस्था थिएन। त्यसैले भन्सार कार्यालयले पुनः प्रहरी हिरासतमै पठायो।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेकी उनको ज्यान गएको छ। उनले गएराति आत्महत्या गरेको प्रहरीको दाबी छ। तीन लाख ३९ हजार रुपैयाँ धरौटी रकम तोकिएपछि विचलित भएर आत्महत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कैलाश राईको भनाइ छ।

गएराति १० बजे हिरासत कक्षभित्रको शौचालयको ढोकामा कपडाको पासो लगाएर उनले आत्महत्या गरेको प्रवक्ता राईको भनाइ छ। “उद्धार गरेर उपचारका लागि राति नै मलंगवा अस्पताल लगेका थियौं। उपचारका क्रममा अस्पतालले मृत्यु भएको घोषणा गर्‍यो,” राईले भने। यसमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्