News Portal

अस्तव्यस्त नाका : भन्सार अगाडी सफारीको लस्कर (तस्वीरहरु)

नवराज सुवेदी
२९६४ पटक

मेचीनगर, ६ साउन । भारतबाट एक सय रुपैँया भन्दा बढी मुल्यको सामान ल्याउँदा भन्सार लाग्ने नियम कार्यान्वयनमा आएसँगै पूर्वीनाका अस्तव्यस्त बनेको छ । नाकामा विहानैदेखि सिटि सफारीको लस्कर छ भने बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । नाकामा सुरक्षाको कमाण्ड गरिरहेका एक सुरक्षाकर्मीका अनुसार हिजोबाट अत्यन्तै कडाइ गर्न थालिएको हो । एक सय रुपैँया भन्दा धेरै मुल्यको सामान ल्याउने बित्तिकै भन्सार काट्नका लागि पठाउने गरेको उनले बताए ।

‘हामीलाई यस्तै निर्देशन छ । एक सय रुपैँया भन्दा बढी मुल्यको सामान आउने बित्तिकै भन्सार पठाउनु भन्ने आदेश भएकाले सोही अनुसार कार्यन्वयन गरिरहेका छौँ,’ ती सुरक्षाकर्मी भन्छन् । एक सय रुपैँयाको सामान ल्याउँदैमा भन्सार लाग्ने नयाँ नियम लागु भएको छ, जुन विषयमा कस्ता प्रतिक्रियाहरु आइरहेका छन् ? भन्ने प्रश्नमा उनले कतैबाट समर्थन पनि भइरहेको तथा कसैले विरोध पनि गरिरहेको बताए ।

‘कसैले राम्रो नियम भनेका छन् भने कसैले सिमावर्ती क्षेत्रमा यस्तो नियम लगाउन नहुने भन्दै विरोध पनि गरिरहेका छन्,’ उनी भन्छन् । सरकारले साउन १ गतेदेखि लागू हुने गरी यस्तो नियम लागु गरेको हो । मेची भन्सार कार्यालयले एक सूचना जारी गरी ‘एक सय भन्दा बढी मूल्यको कुनैपनि सामान लिएर भारतको स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले आफ्नो साथमा ल्याएको मालसामानको यस मेची भन्सार कार्यालयको यात्रु शाखामा अनिवार्य घोषणा गरी जाँचपास गराएर मात्र लैजान सूचित गराइन्छ’ भनेर भनेको छ ।

नाकामा लिइएका केहि तस्वीरहरु :

प्रतिकृया दिनुहोस्