News Portal

दमकल व्यवस्थापनमा फेरि किन लापारवाही गर्दैछ मेचीनगर ?

एउटा दमकल बिग्रिएर थन्किएको छ, अर्कोको सर्भिसिङको म्याद नाघेको ३ महिना भयो

नवराज सुवेदी
४१५ पटक

मेचीनगर, साउन १२ । विगतमा दमकल व्यवस्थापनकै कारण पटक पटक विवादमा पर्दै आएको मेचीनगर नगरपालिकाले अहिले आएर पुनः दमकल व्यवस्थापनमा लापारवाही गरिरहेको खुल्न आएको छ ।

एक बर्ष अघिसम्म एउटा मात्रै दमकलले अत्यावश्यक सेवा दिइरहेको मेचीनगर नगरपालिकासँग अहिले दुईवटा दमकल छन् । तर अचम्मको कुरा के भने दुईवटा मध्ये एउटा (नयाँ) दमकल मात्रै संचालित छ, एउटा बिग्रिएर थन्किएको छ ।

गत जेठ २४ गते राती बुधबारेमा आगो निभाइसकेर फर्किएपछि बिग्रिएको दमकल बनाउने तर्फ नगरपालिका प्रशासनले चासो नदेखाएको नगरकै एक कर्मचारीले जानकारी दिएका छन् । ‘जेठ २४ गते बिग्रिएको दमकल एक महिना भन्दा धेरै समय बितिसक्दा समेत बनाउने तर्फ चासो दिइएको छैन । एक पटक मिस्त्री बोलाएर हेर्ने काम मात्रै भएको छ, अहिले दमकलले पानी नै तान्दैन,’ ती कर्मचारी भन्छन् ।

यो त भयो नगरमा भएको एउटा मात्रै दमकलको कुरा । नगरमा ल्याइएको नयाँ दमकलको पनि अवस्था उस्तै छ । दमकलकै सेवामा कार्यरत अर्का एक कर्मचारीका अनुसार नयाँ दमकल सर्भिस गर्ने समय नाघिसकेको छ । तरपनि दमकलको नियमित सर्भिसिङ भएको छैन ।

‘वैशाख ४–५ गतेतिर नै सर्भिसिङ गर्नुपर्ने हो, तर साउनको पहिलो साता बितिसक्दा समेत सर्भिसिङ गरिएको छैन । सर्भिसको म्याद यतिधेरै नाघिसक्दा समेत दमकलले सेवा भने दिइरहेको छ,’ उनी भन्छन् । यसैगरी सर्भिसिङका लागि नगरपालिका प्रशासनलाई यसअघि नै जानकारी गराइसकेको तथा दमकल बिग्रिएको विषयमा पनि जानकारी गराएर मर्मतका लागि पहल गर्न आग्रह गरिएको अत्यावश्यक सेवामा कार्यरत कर्मचारीका कमाण्डर दिनेश गुरागाइँले जानकारी दए ।

यता यस विषयमा बुझ्दा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत होमनाथ भण्डारीले नगरपालिकामा कामको चाप बढ्दा त्यसतर्फ खासै ध्यान नगएको स्वीकार्दै दमकलको विषयमा अब संवेलनशिल भएर लाग्ने बताए ।

आर्थिक बर्षको अन्तिम समय भएकाले गर्दा कार्यालयमा कामको चाप बढेको जनाउँदै अब चाँडै दमकल बनाउने तर्फ लाग्ने उनले बताएका छन् । ‘एउटा दमकलको पम्प बिग्रिएको रहेछ भने अर्कोको सर्भिसिङमा समस्या रहेछ यद्यपी अब हामी यस विषयमा गम्भीर भएर लाग्नेछौँ,’ उनले भने ।

एउटा दमकल बिग्रिएको भएपनि अर्को दमकलले नियमित सेवा दिइरहेको उनको भनाई थियो । विगतमा दमकल बिग्रिएर समयमा नपुग्दा मेचीनगर नगरपालिकाका विरुद्ध पटक पटक आवाज उठ्दै आएको थियो । तर गत मंसिरमा नयाँ दमकल आएपछि भने आगलागी भएको स्थानमा समयमै पुगेर सेवा दिइरहेको स्थानीय नागरिकहरुले बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्