News Portal

स्थानीयले खोजे चियावाल्नी गाउँको इतिहास

रातोपोस्ट संवाददाता
२९२ पटक

धुलाबारी, १३ साउन । मेचीनगर–९ स्थित तीनतिरे चोकलाई चियावाल्नी गाउँ नामले नै चिनाउने अभियान सुरु गरिएको छ । आज स्थानीयहरुको आम भेलाले विगतको इतिहासलाई जीवन्त राख्दै पुरानै नाम राखेर पर्यटनको विकास गर्ने उद्घोष गरिएको छ । आजभन्दा ८० वर्ष अगाडि चियावाल्नी गाउँमा एक महिलाले चिया बेच्ने गरेको इतिहास छ ।

पछि उक्त ठाउँलाई चियावाल्नी गाउँ भनियो । विस्तारै उक्त ठाउँको पहिचान मेटिएपछि स्थानीयले सो गाउँलाई चियावाल्नी गाउँको रुपमा चिनाउने अभियान सुरुवात गरेका हुन् । उक्त गाउँलाई नमूना गाउँको रुपमा विकास गर्ने योजना अघि सारिएको छ । आजैबाट चोकमा ‘चियावाल्नी गाउँमा तपाईंहरुलाई स्वागत छ’ लेखिएको बोर्ड राखिएको छ । बोर्डमा बस्ती बसाल्ने मृत्यु भइसकेका अग्रजहरुको फोटो अंकित छ ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले राम्रो कामको सुरुवात भएको बताए । उनले अग्रजहरुको सम्मान गर्ने संस्कार सुरु गरेकोमा चियावल्ली गाउँबासीहरुलाई धन्यवाद पनि दिए । उनले समग्र मेचीनगरमा कृषि, शिक्षा लगायतका क्षेत्रमा केही न केही काम भइरहेको जानकारी दिए ।

स्थानीय श्याम पाठकको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर वडा नं. ९ का वडाध्यक्ष कञ्चन तामाङ, कविशिरोमणि मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष संगीता थापा, थोप्लेविरान वन समूहकी सचिव जानुका ओलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । ज्येष्ठ नागरिक पशुपतिनाथ भट्टराई, हरिप्रसाद कट्टेल, भीमबहादुर भुजेल, रामप्रसाद दाहाल लगायत दर्जन बढीलाई सम्मान गरिएको थियो । पुष्प खतिवडाले स्वागत गरेको कार्यक्रमको सञ्चालन होमनाथ पौडेलले गरेका थिए । स्थानीय अगुवा चन्द्रमणि पौडेलले चियावाल्नी गाउँको खोज तथा इतिहासका बारेमा जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस्