News Portal

कन्टेनर फलोअप : भन्सार विज्ञप्तिले जन्मायो प्रश्नै प्रश्न

रातोपोस्ट संवाददाता
१६१९ पटक

मेचीनगर, १४ असार । मेची भन्सार कार्यालयबाट बाहिरिएको कन्टेनरको विषयमा भन्सार प्रशासनले विज्ञप्ति जारी गर्दै उक्त कन्टेनर र बरामद समान वैधानिक भएको बताएको छ । प्रहरीद्वारा पुरानो भन्सारबाट नियन्त्रणमा लिइएको ना २ ख ४९०२ नम्बरको नेपाली कन्टेनर र त्यसभित्रका मालसामान सन्तोष खवास प्रोपाइटर रहेको स्वाभिमान सप्लायर्सको रहेको विज्ञप्तिमार्फत भन्सारले स्पष्ट पारेको हो ।

भन्सारमा आयातकर्ताले एक लाख ५६ हजार ७९० रुपैयाँ राजस्व तिरेर भन्सार जाँचपास गरेको सूचना अधिकारी पूणर्प्रसाद लम्सालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ । प्रहरीले राजश्व छलीको आशंकासहित नियन्त्रणमा लिएको कन्टेनर पक्राउ परेको करिब २४ घण्टापछि भन्सारले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

जुन विज्ञप्तिले कयौँ प्रश्न जन्माएको छ जुन प्रश्न अनुत्तरित छन् । पहिलो प्रश्न त उक्त कन्टेनर र बरामद भएको सामान वैधानिक थियो भने प्रहरीले किन समात्यो ? प्रहरीले कन्टेनरमा कुनै कागजात, बिलबिजक फेला नपरेको भनेर भनेको छ भने उक्त कन्टेनर शिलबन्दी नभएको अवस्थामा फेला परेको पनि प्रहरीको दाबी छ । सँगै प्रहरीले यो पनि भनेको छ कि उक्त कन्टेनर पक्राउ परेपछि चालक फरार भए ।

यदि भन्सारले भने जस्तो कन्टेनर र बरामद भएको करोडौँको सामान वैधानिक थियो भने प्रहरीले यी सबै तथ्य खोजी नगरी किन अनावश्यक सूचना फैलायो ? भन्सार प्रमुखसँग यस विषयमा जानकारी लिँदा उनले किन ‘कन्टेनर भन्सारबाट बाहिरिएकै होइन’ भनेर जवाफ दिए ?

प्रहरीले बरामद सामान राजश्व अनुसन्धान कार्यालय बुझाउँदासम्म आयातकर्ता कहाँ थिए ? आफ्नो सामान दाबी गर्न किन आएनन् ? यी लगायत धेरै प्रश्न आम सर्वसाधारणसँग छन् तर जवाफ दिने निकाय ? भन्सार प्रशासन विज्ञप्ति निकालेर पन्छिएको छ भने प्रहरी प्रशासन अब राजश्व अनुसन्धान कार्यालयमा सामान बुझाइएको हुनाले थप कुराको अनुसन्धान उसैले गर्ने बताउँछ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्त खगेन्द्र प्रसाद रिजालले सिलबन्दी नभएको अवस्था कन्टेनर फेला परेको बताउँछन् । ‘कन्टेनर शिल थिएन कागजपत्र, प्रज्ञापनपत्र लगायत आवश्यक कागजात पनि भेटिएन चालक पनि फरार भए जसका कारण हामीले कन्टेनर नियन्त्रणमा लिएर आवश्यक कारवाही गर्यौँ,’ उनले भनेका छन् ।

यदि प्रहरीले भनेजस्तै हो भने वैधानिक सामान लिन व्यवसायी किन आएनन् ? चालक फरार हुनुको कारण के हो ? भन्सार प्रशासन र प्रहरीबिच समन्वय किन भएन ? यी आम प्रश्नको न भन्सारको विज्ञप्तिले स्पस्ट जवाफ दिन सक्छ, न त प्रहरीको भनाईले नै । यद्यपी राजश्व अनुसन्धान कार्यालयले गम्भीरतापूर्वक थप अनुसन्धान गर्ने भएकाले यी आम प्रश्नको जवाफ चाँडै सार्वजनिक हुनेमा हामी बिश्वस्त छौँ ।

प्रतिकृया दिनुहोस्