News Portal

‘सर्वसाधारणको आवाजलाई बेवास्ता गरिरहेको भन्सारबाट करोडौँको कन्टेनर कसरी छिर्यो ?’ रास्वपा

नवराज सुवेदी
१५५३ पटक

मेचीनगर, साउन १४ । मेची भन्सारबाट करोडौँको सामान लिएर बाहिरिएको कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको सन्दर्भमा सत्य तथ्य जाँच गरी यथार्थ सार्वजनिक गर्न तथा गल्ती भएको भए संलग्न जो कोहीलाई कानूनको दायरामा ल्याउन माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेचीनगर समितीले मेची भन्सार कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।

पार्टीका मेचीनगर सभापति कमल गौतमको नेतृत्वमा आज भन्सार परिषर पुगेको टोलीले भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख पुर्णप्रसाद लम्साललाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा सर्वसाधारणलाई एक सय रुपैँयाको सामान ल्याउँदा समेत करको दायरामा ल्याउने निकायबाट करोडौँको सामान बोकेर कन्टेनर कसरी छिर्यो ? भनेर रास्वपाले प्रश्न गरेको छ ।

‘एक सयदेखि एक हजारसम्मको सामान ल्याउन पाउनुपर्छ भन्ने सर्वसाधारणको आवाजलाई बेवास्ता गरि करको दायरामा ल्याउने मेची भन्सार कार्यालयबाट करोडौँ मुल्य बराबरको सामाग्री कसरी छिर्यो ? मालवाहक ट्रक सहित विना भन्सारको सामान नदेख्ने र यदी सत्य हो भने गल्ती गर्ने संलग्न जो कोहीलाई कानूनको दायरामा ल्याइ कडा भन्दा कडा कारवाही गर्न रास्वपा माग गर्दछ’ सभापति गौतमद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ ।

यता ज्ञापन पत्र बुझदै निमित्त प्रमुख लम्सालले सत्य तथ्य छानविन गरी यदी गल्ती भएको भए संलग्न जो कोहीलाई कारवाही गर्ने प्रतिवद्धता जनाउनुभयो । ‘हाम्रो अभिलेखमा भएको विवरण अनुसार भन्सार प्रशासनले विज्ञप्तीमार्फत आफ्नो धारणा सार्वजनिक गरिसकेको छ, यद्यपी यस घट्नामा अनुसन्धान भइरहेको छ । अनुसन्धानमा जे आउँछ यदी गल्ती भएको देखिए जो कोहीलाई कारवाही गर्न हामी तयार छौँ,’ ज्ञापन पत्र बुझ्दै उनले भने ।

गत शुक्रबार भन्सार भित्रैबाट बाहिरिएको एउटा कन्टेनर प्रहरीले भन्सार छलीको आशंकासहित नियन्त्रणमा लिएको थियो । चेकजाँच गर्दा कन्टेनरमा एक करोड बढीको सामान फेला पर्यो । अहिले उक्त सामान र कन्टेनर प्रहरीले राजश्व अनुसन्धान कार्यालयमा बुझाइसकेको छ । भन्सारले भने हिजो बेलुका मात्रै एक विज्ञप्ति जारी गर्दै उक्त कन्टेनर वैधानिक तवरले राजश्व तिरेर भन्सारबाट बाहिरिएको दाबी गरेको छ । यद्यपी उक्त घट्नाको गम्भिर अनुसन्धान भइरहेको भन्सारकै उच्च तहका कर्मचारीहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस्