News Portal

मेयरको ‘एक्सन’ : निरन्तर कि क्षणीक मात्रै ?

रातोपोस्ट संवाददाता
४३१ पटक

मेचीनगर, साउन १५ । आइतबार दिउँसोको समय । धुलाबारी बजारका व्यापारीहरुमा खैलाबैला मच्चीएको थियो । कोही सटर बन्द गर्ने तरखरमा लागेका थिए त कोही व्यापारी देख्दा लाग्थ्यो यिनीहरु आज दौडधुपमा छन् । हतारमा छन् ।

सँधै आफ्नै दौरानमा व्यस्त देखिने यस बजार आइतबार चाहिँ किन फरक पनि अनि हतारमा देखियो ? कारण अलिक नौलो छ । स्थानीय सरकारको नेतृत्व गरिरहेका मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी स्वयम आइतबार बजार अनुगमनमा निस्किएका थिए ।

भारतीय बजारबाट सामान ल्याउन भन्सार प्रशासनले कडाइ गरेसँगै यतिबेला सिमावर्ती बजारहरुमा अत्यावश्यक सामाग्रीहरुको कालोबजारी हुन थालेको तथा मुल्यवृद्धि भएको जनगुनासो सर्वत्र उठ्न थालेको छ । अत्यावश्यक सामाग्रीको बजारभाउ एक्कासी बढेको आम नागरिकले गुनासो गरिरहेका बेला नगरप्रमुखको यो अनुगमनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

अनुगमनका क्रममा मेयरको नेतृत्वमा बजार पुगेको टोलीले धुलाबारीको पौडेल किराना पसल, मास भेराइटिज स्टोर, दास किराना पसल लगायतमा अनुगमन गर्यो । जसक्रममा मूल्यसूची नराखेको, म्याद गुज्रिएका लगायतका सामानहरु भेटिए ।

अर्थात आइतबारबाट शुरु भएको यस बजार अनुगमन निरन्तर सञ्चालन हुनुपर्ने पसलहरुमा भेटिएका यी त्रुटीहरुले नै प्रस्ट पारेका छन् । यता टोलीको नेतृत्व गरेका नगरप्रमुख बुढाथोकीले पनि बजार अनुगमन कार्यलाई निरन्तरता दिने बताएका छन् । ‘यस अनुगमन निरन्तर जारी रहन्छ,’ नगरप्रमुख बुढाथोकीले भनेका छन् ।

भारतमा खुद्रा सामान नेपाली बजारमा भन्दा केही सस्तो मुल्यमा पाइने भएकाले यहाँका पसलहरुमा अधिकांश सामान भारतबाटै आयात हुन्छ । पछिल्लो समय भने भन्सार प्रशासनले एक सय रुपैँया भन्दा बढी मुल्यको सामान ल्याउनेलाई करको दायरामा ल्याउने नीति कार्यान्वयनमा ल्याएको छ । जसले गर्दा सिमावर्ती बजारका पसलहरुमा कालोबजारी तथा मुल्यवृद्धि हुने आशंकासहित नगरपालिकाले अनुगमन शुरु गरेको हो ।

प्रतिकृया दिनुहोस्