News Portal

काँकरभिट्टामा ट्राफिक पोष्ट भवन बनाउन बन्यो समिती

नवराज सुवेदी
४९८ पटक

मेचीनगर, १८ साउन । देशकै पूर्वी सिमान्त सहर काँकरभिट्टामा ट्राफिक पोष्ट भवन निर्माण हुने भएको छ । विगत २६ बर्षदेखि टिनको टहरामा रही अस्थायी रुपमा सेवा दिइरहेका ट्राफिक प्रहरीको आवाससँगै सहजताका निम्त्ति काँकरभिट्टामा ट्राफिक पोष्ट भवन निर्माण हुने भएको हो ।

भवन निर्माणका लागि निर्माण समिती समेत गठन भएको छ । गत आइतबार सम्पन्न स्थानीय सरोकारवाला पक्षहरुको भेलाले मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ती पौडेलको अध्यक्षतामा १४ सदस्यीय समिती गठन गरेको हो ।

समितीको उपाध्यक्षमा खडानन्द भण्डारी रहेका छन् भने सदस्य सचिवमा ट्राफिक पोष्ट काँकरभिट्टाका प्रमुख लिला श्रेष्ठ रहेका छन् । यसैगरी सदस्यहरुमा होम विष्ठ, मिरा कार्की, दिनेश पोख्रेल, बिक्की मजुमदार, सञ्जय तामाङ, सुवास गुरुङ, गोपाल श्रेष्ठ, विष्णु श्रेष्ठ, मोहन रिजाल, राजकुमार सुवेदी, केशव गिरी र बिमला देवकोटा छन् ।

यसैगरी उक्त भेलाले सल्लाहकार समितीसमेत गठन गरेको छ । जसका सदस्यहरुमा डिल्लीराम घिमिरे, माधव अर्याल, शुभद्रा अर्याल, सुरेन्द्र बुढाथोकी, हरी तिम्सिना र भवानी केरुङ रहेका छन् । काँकरभिट्टा बजार भन्दा ५ सय मिटर पूर्व राजमार्ग दक्षिण रहेर अस्थायी रुपमा सेवा दिइरहेको अवस्थामा भवन निर्माण हुने भएसँगै अब सेवा प्रदानका लागि ट्राफिक प्रहरीलाई सहज हुने अपेक्षा गरिएको छ ।

राजमार्गसँगै जोडिएको पुरानो भन्सारको जग्गामा निर्माण हुने उक्त भवनका लागि सरोकारवाला सम्पूर्ण निकायबाट साथ सहयोग रहने अपेक्षा गरिएको समितीका अध्यक्ष पौडेलले बताए ।

भेलामा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, मेचीनगर नगरपालिका उपप्रमुख मिना पोख्रेल उप्रेती, पूर्व संघिय सांसद रविन कोइराला, निवर्तमान मेचीनगर नगरप्रमुख बिमल आचार्य, मेचीनगर ६ का वडाध्यक्ष ललित तामाङ, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख दिपक भारती लगायत काँकरभिट्टामा सक्रिय विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्