News Portal

भन्सार फलोअप : धरौटी लिएर कन्टेनर छाडियो, अब संलग्न कर्मचारी अनुसन्धानको घेरामा

नवराज सुवेदी
४४६ पटक

मेचीनगर, १९ साउन । मेची भन्सारबाट बाहिरिएको कन्टेरमा राजश्व छलीको सामान भेटिएसँगै राजश्व अनुसन्धान कार्यालय इटहरीले धरौटी बापतको रकम लिएर कन्टेनर छाडेको छ । भन्सार भित्रैबाट बाहिरिएको उक्त कन्टेनरमा भन्सार पज्ञापन पत्रमा भएभन्दा फरक तथा तोकिएभन्दा बढी भएको सामान भेटिएको प्रमाणित भएको थियो ।

जुन सामानलाई नियमानुसार जफत गरिएको र धरौटीबापतको रकम लिएर राजश्व तिरेको सामान र कन्टेनर छाडिएको राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले जानकारी दिए । उनका अनुसार कार्यालयले धरौटीबापतको ४८ लाख ४१ हजार ५४ रुपैँया रकम लिएको हो ।

‘कन्टेनर चालकको हकमा समेत ५० हजार धरौटी लिइयो, उक्त धरौटी रकम लिइएको छ, अब थप अनुसन्धान अघि बढ्छ,’ उनले भने । उक्त कन्टेनरमा राजश्व छलीको सामान भेटिएको यसअघि नै कार्यालयले पुष्टी गरेको थियो ।

अब संलग्न कर्मचारीहरुमाथी थप अनुसन्धान अघि बढ्छ

कार्यालयले राजश्व छलीका सामान जफत गरी धरौटी रकम लिएसँगै अब उक्त कार्यमा संलग्न कर्मचारीहरुमाथी अनुसन्धान अघि बढाइने कार्यालयका प्रमुख आचार्यले बताए ।

‘अब कर्मचारी संलग्नताको विषयमा थप अनुसन्धान हुन्छ, कर्मचारीलाई थप कुरा सोध्ने, बयान लिने, अनुसन्धानको दायरामा ल्याउने लगायतका कार्य जारी छ,’ उनले भने । गत साउन १२ गते बेलुका मेची भन्सारबाटै बाहिरिएको कन्टेनर भन्सार छलीको आशंकासहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।

कन्टेनर चेकजाँच गर्दा उक्त कन्टेनरबाट प्रहरीले १ करोडभन्दा बढीको सामान फेला पार्यो र अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझायो । राजश्व अनुसन्धान कार्यालयले भने विभिन्न कोणबाट छानविन गरी राजश्व छलीको सामान भेटिएको सार्वजनिक गरेको हो ।

प्रतिकृया दिनुहोस्