मेचीनगर, २१ साउन । श्रमिकको भिडले भरिभराउ छ काँकरभिट्टाको सडक, माइकमा आन्दोलनका नारा घन्किएका छन् । तातो घामको प्रवाह नगरी आन्दोलनमा होमिएका छन् मजदुर । ‘चिया व्यवसायी होसियार’ ‘सम्पूर्ण श्रमिक एक हौँ’ काँकरभिट्टामा शनिबार घन्किएका नारा हुन यी । महँगीको आधारमा पारिश्रामिक बढाउनुपर्ने, सामाजिक सुरक्षा ऐन लागु गर्नुपर्ने, पत्ती डबली वृद्धि गर्नुपर्ने तथा श्रम ऐन २०७४ लागु गर्नुपर्ने लगायतका माग राखेर चिया श्रमिकहरु आन्दोलनमा उत्रिएका हुन् ।
बर्षौँदेखी चिया मजदुरहरुको समस्याको समाधान हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका चिया मजदुरहरुले पुनः एकपटक आन्दोलनलाई तीव्र बनाएका हुन् । झापाका विभिन्न बगानमा कार्यरत मजदुर र मालिक बीचको असमझदारी बढ्दै गएपछि यतिबेला सबै मजदुरहरु सडक आन्दोलन गरिरहेका छन् ।
सरकारले बनाएको कानुनको बगान सञ्चालकहरुले उल्लंघन गरेको, महंगी बढेर दुई छाक खान समेत धौधौ परेको बेला सरकारले तोकेको न्युनतम पारिश्रमिकता समेत नदिएको, श्रमको शोषण गरेको लगायतका आरोप सहित श्रम ऐन २०७४ लागू गरिनुपर्ने उनिहरुको माग छ ।
हिजो (शनिरबार) पूर्वी सिमानाका काँकरभिट्टा अन्तर्गत इलाका प्रहरी कार्यालयको अगाडि बीच सडकमा विभिन्न नाराबाजी सहित कोणसभामा भेला भएका मजदुरहरुले राज्य र मालिकले गरिब मजदुरहरूको आवाज नसुनेको भन्दै सडकमा उत्रन बाध्य भएको बताए ।
जिल्लाका विभिन्न बगानमा कार्यरत सयौंको संख्यामा उपस्थित मजदुरहरुले सडकमा प्रदर्शन गर्दै ‘श्रमिकलाई किन बिल्लिबाठ बनाइदैँछ ?’ भनेर सरकारलाई प्रश्न समेत गरे । ‘विगत ३ बर्षदेखि मजदुरको पारिश्रामिक नबढेको र पटकपटक यस विषयमा छलफल गर्दा समेत बगान मालिक र सरकारले बेवास्ता गरेका कारण यो आन्दोलनमा उत्रनु परेको अखिल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष भुपाल सापकोटाले बताए ।
मजदुरहरूले कुनै ठुलो अपेक्षा राखेर आन्दोलन नगरेको बताउँदै सरकारले ल्याएको सामाजिक सुरक्षा ऐन कार्यान्वयन हुनुपर्ने, रोजगार सम्झौता लागु गर्नुपर्ने, सरकारले तोकेको पारिश्रमिकता पाउनुपर्ने माग रहेको सापकोटाले बताए । यदि मजदुरहरूको आन्दोलनलाई बेवास्ता गरे भदौ ७ गतेबाट सबै बगान ठप्प पार्ने समेत उनले चेतावनी दिएका छन् ।
अहिले चिया मजदुरहरुले दैनिक ४ सय ३५ रुपैँया मात्रै पारिश्रामिक पाउँदै आएको र उक्त पारिश्रामिकलाई बढाएर ५ सय २५ बनाउनुपर्ने मजदुर नेता दिपक तामाङले बताए । बजारमा हरेक चिजबिजको मुल्य आकाशिएको तर मजदुरहरुको ज्याला भने नबढेको कारण बाध्य भएर सडकमा उत्रनु परेको उनले बताए ।
भदौ ७ गते सम्म मजदुरहरुको समस्या समाधान नभएदेखि देशभरका चिया बगान बन्द गर्ने समेत उनिहरुले चेतावनी दिएका छन् ।