News Portal

भोलि सार्वजनिक बिदा

रातोपोस्ट संवाददाता
४६३ पटक

झापा, २३ साउन । विश्व आदिवासी दिवसको अवसरमा भोलि साउन २४ गते कोसी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । कोसी प्रदेश सरकारले २०७९ साल चैत १ गते राजपत्र जारी गरेर यो बिदा सहित अन्य बिदाहरू सार्वजनिक गरेको थियो ।

यो दिवस संयुक्त राष्ट्र सङ्घको आह्वानमा नेपाल सहित विश्वभरिका आदिवासी जनजातिहरूले सन् १९९५ देखि जनजाति अधिकारका लागि पर्वको रूपमा मनाउँदै आइरहेका छन् ।

यो दिवस मनाउनुको मुख्य उद्देश्य विश्व भूमण्डलीकरण, आधुनिकीकरण, निजीकरण, बजारमुखी उत्पादन प्रणाली, वातावरणीय ह्रासबाट विश्वभरिका आदिवासी जनजातिहरूका सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र भौतिक जीवनमा परेका प्रतिकूल असरबाट उनीहरूलाई बचाउनु, उनीहरूका विकास गर्नु र अधिकार तथा भाषा संस्कृतिको संरक्षण संवर्द्धन गर्नु हो ।

सामाजिक अगुवा तथा आदिवासी नेता प्रवीण चाम्लिङ अनुसार आदिवासी दिवसलाई वास्तविक आदिवासीहरूको पर्वको रुपमा मनाउनुभन्दा पनि राजनीतिक रङ्ग र स्वार्थपरक रुपमा मनाउने कार्यले वास्तविक आदिवासीहरूको मुद्दाहरू ओझेलमा पर्दै आएको छ । यो सबै आदिवासीहरूले आफ्नो महान् पर्वको रुपमा मनाउने अवस्था ल्याउन सके यसको सार्थकता रहन्छ, उनले भने ।

प्रतिकृया दिनुहोस्