News Portal

नकलबन्दा नाकाबाट सेटिङमा गोरु तस्करी

'तस्करीमा कोही कर्मचारी संलग्न देखिए २४ घण्टाभित्र कारवाही गरिन्छ' डिआइजी बाँस्तोला

रातोपोस्ट संवाददाता
९१६ पटक

झापा, ३१ साउन । झापाको पूर्वोत्तर नकलबन्दा नाकावाट बर्षौँदेखि निर्वाध रुपमा गाई/गोरु तस्करी हुँदै आएको छ । तर, प्रहरी प्रशासन यसबारे सँधै वेखवर झैँ बन्ने गरेका छन् । ‘काँकरभिट्टा उत्तर नकलबन्दा नाकाबाट गोरु तस्करी भइरहेको छ’, नकलबन्दा क्षेत्रका एक स्थानीयले रातोपोष्टसँग भने, ‘तर, प्रहरी र प्रशासनले चालै नपाएझँै गर्दै आएको छ ।’

गोरु तस्करीमा प्रहरीले सधैँ ‘आँखा चिम्लिने’ गरेको छ । जसबापत प्रहरीले निश्चित घुस पाउँछ । पश्चिम नेपालबाट ल्याइने गाई/गोरु दिनभर नकलवन्दाकै एक कान्जी घरमा राखिन्छ । अनि मध्यराती मेची तारिन्छ । ‘कहिले काहीँ त दिनमै पनि हुलका हुल गोरु मेची तारिदा प्रहरी मुकदर्शक बन्ने गरेको छ’, एक स्थानीय बताउँछन् । दोकान डाँडाबाट माताचोकसम्म पुग्ने मेचीनगरको पुरानो रिङरोड र पुण्यचोकबाट नकलबन्दासम्म पुग्ने सडकमार्फत तस्करहरुले नकलबन्दासम्म गोरु पुर्याउने गरेको र त्यहाँबाट सुरक्षाकर्मीसँगको सेटिङमा भारत पुर्याउने गरेको ती स्थानीयको भनाई छ ।

‘यसबाहेक भित्री बाटोबाट पनि गोरु ल्याइन्छ,’ उनी भन्छन्, ‘अहिले बाहुनडाँगी क्षेत्रको तिरिङबाट पनि तस्करीको काम भइरहेको छ ।’ सर्वसाधारणलाई चाहिँ सय रुपैयाँको सामान ल्याउँदा पनि सुरक्षाकर्मीले खानतलासी गरेर दुःख दिने र गोरु लगायतका अन्य सामान तस्करीमा प्रहरीले नजरअन्दाज गरेको प्रति स्थानीय आक्रोसित छन् । ‘यहाँ गोरुको निर्वाध तस्करी हुँदा समेत किन नजर नपरेको ?,’ अर्का स्थानीय प्रश्न गर्छन् ।

यता, सीमा प्रहरी चौकी नकलबन्दाको नेतृत्व गरिरहेका प्रहरी सई नरबहादुर खड्का भने यस नाकाबाट पहिला जस्तो गोरु तस्करी नभएको दाबी गर्छन् । विगतमा भएपनि चौकीको कमाण्डर भएर आफु आएपछि भने तस्करी पूर्ण रुपमा ठप्प भएको दाबी उनको छ । ‘पहिला जस्तो तस्करी त भएको छैन, यद्यपी फाट्टफुट्ट रुपमा भने हुने गरेको सुनिन्छ,’ उनी भन्छन्, ‘हामी रातभर ड्युटीमा छौँ तर भेटिँदैन ।’

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजाल तस्करी सम्बन्धी कुनैपनि गतिविधि गर्ने छुट कसैलाई पनि नभएकाले यस्ता गतिविधि शुन्य बनाउन प्रहरी सधैँ सक्रिय रहेको दाबी गर्छन् । ‘गाई गोरु तस्करीको हकमा झन् हामीले शुन्यताको रणनीति लिएका छौँ, कुनैपनि सीमा क्षेत्रबाट गाईगोरु ओसारपसार गर्न पाइँदैन,’ उनी भन्छन्, ‘यदि कहीँकतै तस्करीमा कोही पनि प्रहरी संलग्न भएको भेटिए हामी कारवाही गर्छौं । तस्करीको छुट कसैलाई पनि छैन ।’

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डिआइजी) राजेशनाथ बाँस्तोलाले गोरु तस्करीबारे अनभिज्ञता प्रकट गर्दै भने, ‘यो विषय मलाई थाहा छैन, यदि तस्करी घटनामा कोही पनि कर्मचारी संलग्न देखिए २४ घण्टाभित्र कारवाही गरिन्छ ।’ आपराधिक गतिविधि निरुत्साहनमा प्रहरी सधैँ सक्रिय रहनुपर्ने बताउँदै यस किसिमका क्रियाकलाप रोक्न सम्पूर्ण नागरिकहरु सशक्त बन्नुपर्ने उनले बताए ।

‘यदि कहीँ कतै तस्करी भएको थाहा पाए प्रमाणसहित मलाई जानकारी गराए हुन्छ, २४ घण्टाभित्रै प्रदेश प्रहरी कार्यालयले कारवाही गर्छ,’ रातोपोष्टसँगको कुराकानीमा उनले भने । तस्करीको विषयमा भने मातहतका निकायहरुबाट बुझेर नियन्त्रण गरिने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्