झापा । पूर्वीनाका काँकरभिट्टाको अस्तित्व रक्षाका सन्दर्भमा सरोकारवालाहरु बिच घनिभूत छलफल सम्पन्न भएको छ । पूर्वी सिमावर्ती नेपाली बजारहरुमा हराइरहेको व्यापारिक चहलपहलसँगै नाकामा भइरहेको हैरानीको सन्दर्भमा जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगै सुरक्षा संयन्त्रका प्रमुखहरुकै उपस्थितीमा व्यापक छलफल भएको हो ।
गत आइतबार मेची उद्योग वाणिज्य संघको सभाहल धुलाबारीमा आयोजित छलफलमा पुर्वीनाका प्रयोग गर्दा सुरक्षा निकायले दिने हैरानी, भन्सारभित्र देखिएका त्रुटीहरु तथा सिमावर्ती बजारमा घट्दो रुपमा रहेको व्यापारिक चहलपहलका बारेमा गम्भिर छलफल भयो । जसक्रममा पूर्वीनाकाबाट पेट्रोलियम पदार्थ नभित्रिने हो भने सरकारले तोकेको राजश्वको लक्ष्य २५ प्रतिशत पनि नउठ्ने स्वयम मेची भन्सारका प्रमुख रामप्रसाद रेगमीले बताए ।
अर्थात मेची भन्सारले उठाउने राजश्वको स्रोत नै पेट्रोलियम पदार्थ रहेको उनको आशय थियो । ‘यस नाकाबाट पेट्रोलियम पदार्थ नभित्रने हो भने राज्यले दिएको लक्ष्य भेट्टाउन सकिँदैन,’ उनले भने । छलफलमा व्यवसायीहरुले व्यापारका क्रममा भोग्नुपरेको हैरानी सुनाए भने पूर्वीनाकाबाट पर्यटक भित्रन छोडेको, काँकरभिट्टा, धुलाबारी लगायतका बजारमा ग्राहकहरु नै आउन छोडेको भन्दै गुनासो पोखे ।
अर्थात पूर्वीनाकामा घट्दो चहलपहलका कारण नाकाको अस्तित्व नै मेटिने हो कि ? भन्ने सम्मका प्रश्न उठे । कुनैबेला ‘हङकङ मार्केट’का रुपमा परिचित धुलाबारी बजारको अवस्था अहिले एकदमै दयनिय छ, यस्तो कसरी हुँदैछ ? यस बजारको शाख जोगाउन के गर्ने , लगायतका प्रश्न पनि छलफलमा उठे । तर आगामी योजनाका बारेमा भने छलफलले कुनै निश्कर्ष निकाल्न सकेन ।
व्यवसायीहरुले नाकामा हरेक नागरिकले भोग्नुपरेको सास्तीका कारण यी सबै समस्या आइपरेको बताए भने सम्वद्ध सरोकारवाला निकायका प्रमुखहरुले व्यवसायीहरुले पर्यटकलाई आकर्षण गराउने योजना नै नल्याएका कारण बजारमा चहलपहल घटेको जवाफ दिए । यसैगरी चोरी तस्करीजन्य घट्ना मौलाएका कारण पनि बजारको शाख हराउँदै गएको अधिकारीहरुको भनाई थियो ।
‘जहाँ चोरी तस्करी फस्टाउँछ त्यहाँ व्यापारको चहलपहल हराउँछ, अर्थात गैरकानूनी क्रियाकलाप जहाँ नियमित हुन्छ त्यहाँ कानूनी क्रियाकलाप हराउँदै जान्छ,’ व्यवासायीले उठाएका प्रश्नको जवाफ दिने क्रममा मेची भन्सारका प्रमुख रेग्मीले यसो भनेका थिए । अर्थात पूर्वी सिमावर्ती बजारमा चहलपहल घट्नुको मुख्य कारण नै ‘चोरी तस्करी बढ्नु’ रहेको उनको आशय थियो ।
पूर्वीनाका प्रयोग गर्दा कसैले पनि अनावश्यक हैरानी व्यहोर्नु नपर्ने उनले बताए । ‘कतिपयले नियम कानून नबुझे्र हैरानी व्येहोर्नुपरेको हो । त्यस्तो हैरानी छैन,’ उनले भने । यसैक्रममा सशस्त्र प्रहरीका झापा जिल्ला प्रमुख एसपी देवराज अर्यालले नाकामा प्रहरीले कसैलाई पनि अनावश्यक हैरानी नदिएको बताए । छलफलमा मेची पुलबाट धुलाबारीसम्म पुग्दा ठाउँ ठाउँमा प्रहरी चेकिङ रहेको कुरा पनि उठेको थियो ।
उक्त सन्दर्भमा एसपी अर्यालले कहिँपनि चेकपोष्ट नरहेको बताए । ‘सूचनाका आधारमा कहिँ कहिँ छड्के चेक गरेपनि स्थायी रुपमा कहिँपनि चेकपोष्ट छैन । ठाउँ ठाउँमा चेकपोष्ट छ भन्नु गलत हो,’ उनले भने । छलफलमा बोल्दै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले व्यवसायीहरुले पर्यटक बोलाउन विभिन्न प्याकेज बनाउनुपर्ने बताए ।
‘पर्यटक बोलाउन त योजना चाहिन्छ, प्याकेज बनाउनुपर्छ । हामीसँग नयाँ योजनाहरु के छन् ? र, पर्यटक आउँछन् । नयाँ नयाँ योजनाहरु बनाउनुस पर्यटक आउँछन्,’ छलफलमा बोल्दै प्रजिअ पोख्रेलले भने ।
छलफलमा व्यवसायीहरुका तर्फबाट मेची उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष केशवराज पाण्डे, मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख बिमल आचार्य, संस्थापक अध्यक्ष पन्नालाल जैन लगायतले धारणा राखेका थिए भने झापाका प्रमुख जिल्ला अधिकारी पोख्रेल, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाठोकी, सशस्त्र प्रहरीका एसपी अर्याल, मेची भन्सार कार्यालयका प्रमुख रेग्मी, जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता समेत रहेका डिएसपी खगेन्द्रप्रसाद रिजाल, राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख लगायतले छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए ।
मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रशाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष भूमी पौडेलले स्वागत मन्तव्य राखेका थिए भने महासचिव दिनेश शाक्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।