मेचीनगर । गत आइतबार बडो उत्साहका साथ मेचीनगरमा फेरि अर्को अस्पतालको शिलान्यास भयो । करिब चार वर्ष अघि मेचीनगर १० कै लालपानी क्षेत्रमा यस्तै उल्लासका साथ नगर अस्पतालको शिलान्यास भएको थियो । अघिल्लो पटक नगर प्रमुख विमल आचार्य थिए । यसपटक प्रमुख गोपालचन्द्र बुढाथोकी ।
‘२४ सै घण्टा सेवा’ दिने भनिएको १६ बेडको नगर अस्पताल शिलान्यास पछि नगर प्रमुख बुढाथोकीले भने, ‘अव हामी आम नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने बाचा गर्दछौ ।’ अघिल्लो पटक तत्कालिन प्रमुख आचार्यले पनि यस्तै बाचा गरेको कुरा संचारमाध्यममा आएको थियो । नगरकै अर्को अस्पताल मेची–आम्दा बर्षौँदेखि आफैँ विरामी झै छ ।
जापान सरकारको सहयोगमा निर्मित यो अस्पताल वर्षौँदेखि आफैँ विरामी छ । मेचीनगरको वडा नम्वर १० का यी तीन अस्पतालका तीन किस्सा यस्तो छ :
अस्पताल १ः
नगर प्रमुख बुढाथाकीले भर्खरै अर्को नगर अस्पताल शिलान्यास गरेका छन् । मध्यवर्खाका वीच स्वास्थ्य चौकी परिसरकै जमीनमा निर्माणाधिन यो अस्पताल १६ बेडको सुविधा सम्पन्न हुने छ । अस्पताल बनेपछि सहज र सुलभ ढङ्गबाट स्वास्थ्य सेवा प्राप्त गर्ने स्थानियबासीको सपना छ । तर, यो सपना पुरा हुन्छ कि विगतको झैँ चकनाचुर बन्छ ? त्यो केही समयपछि थाहा लाग्ने नै छ ।
अस्पताल २ः
पूर्ववर्ती सरकारले अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा देशभरका करिव ४ सय स्थानीय तहमा १५ शैय्याको आधारभूत अस्पताल निर्माणका लागि एकैसाथ शिलान्यास गरेको थियो । जसमध्ये २०७७ मंसिर १५ मा झापाका १२ पालिकामा पनि एक साथ अस्पताल शिलान्यास भए । तर, शिलान्यास भएकामध्ये कतिपय अस्पपताल निर्माण भइवरी संचालन अवस्थामा छन् । तर, मेचीनगरको अस्पताल भने हाल अलपत्र छ ।
मेचीनगरका नगर प्रमुख विमल आचार्य र उपप्रमुख मीना उप्रेतीले वडा नम्वर १० मा अस्पताल निर्माणको थालनी गरेका थिए । शुरुमा मेचीनगर–१० धुलावारीको पशु हाट जमीनमा अस्पताल निर्माण गर्ने निर्णय बमोजिम त्यहि जमीनमा शिलान्यास गरिएको थियो । तर, केही समयपछि निर्माणस्थल परिवर्तन भयो । हाल मेचीनगर १० कै लालपानी क्षेत्रमा अस्पताल निर्माण शुरु भएको थियो ।
पशु हाटको जमीन अस्पतालका लागि अपुग हुने भएर लालपानीमा योजना सारिएको नगरका एक कार्यपालिका सदस्यले त्यो वेला जनाएका थिए । उनका अनुसार पशु हाट क्षेत्रमा करिव १० कट्ठा मात्रै जमीन थियो । त्यो अपर्याप्त हुने भएपछि लालपानीमा रहेको नगरको स्वामित्वको करिव ६ विघा मध्ये ३ विघामा अस्पताल निर्माण शुरु गरिएको हो । यो जमीन नगरले खेल मैदान निर्माणका लागि छुटयाएको थियो । रोचक कुरा त के भने विगतमा ‘जमीन अभावका कारण’ देखाउदै अन्तै निर्माण गरिएको अस्पताल पुनः अहिले पशु हाट क्षेत्रमा शुरु गरिएको छ ।
नगरले शिलान्यास मंसिरमा गरेपनि निर्माणको थालनी चाँहि दशैँअघि देखि मात्रै शुरु गरेको थियो । अस्पतालको कुल निर्माण लागत साढे २० करोड हो । तर, भूमि÷बीसीपीएल जेभीले १३ करोड ३० लाखमा निर्माण सम्झौता गरेको थियो, गत असार २९ मा । अस्पताल २ वर्षभित्र सम्पन्न गर्ने जनाइएको थियो ।
स्थानीय जनप्रतिनिधि रमाकान्त चौधरी (आरके) ले निर्माण कम्पनीले करिव दुई साता जति काम गरेर अहिले अलपत्र छाडेको जनाए । उनका अनुसार निर्माण कम्पनीले काम शुरु नगर्दै डेढ करोड बढी रकम पेश्की लगिसकेको छ । स्थानीयवासीका अनुसार अस्पतालको फाउन्डेसन निर्माण बाहेक केही भएको छैन । अस्पताल निर्माणका लागि राखिएका सामानहरु चोरी हुन थालेको छ । सामान चोरी रोक्न निर्माण कम्पनीले कर्मचारी समेत खटाएको छ । अलपत्र अस्पतालका एक हेरालुले भने, ‘रड सिमेन्ट चोरी भएर विजोग छ ।’
अस्पताल ३:
आर्थिक अभावले पटक पटक बन्द हँुदै संचालन हुदै आएको मेचीनगर १० कै सामुदायिक अस्पताल आम्दा–मेची संचालनमा त छ तर, अस्पताल आफैँ विरामी छ । नयाँ अस्पताल निर्माणको सट्टा यसै अस्पताललाई विस्तार गर्दा हुने स्थानीयको भनाई छ । तर, नगरले नयाँ अस्पताल निर्माण अघि बढाउँदै लगेको छ ।
‘यो अस्पताललाई विस्तार गर्दा कर्मचारी देखि जनप्रतिनिधिलाई कमिसन नआउला, नयाँ अस्पताल बनाउँदा त कमिसनको चलखेल हुन्छ नि त’, एक स्थानीयले नाम नछाप्ने शर्तमा भने, ‘अस्पताल बनोस र नगरवासीले सर्वसुलभ सेवा सुविधा पाउन भन्दा पनि कमिसन कति पाइन्छ भन्ने चिन्ता जनप्रतिनिधि र कर्मचारीलाई छ ।’
२०६५ सालमा जापान सरकारको आर्थिक सहयोगमा आम्दा–मेची वनेको हो । स्थानीय समाजसेवी स्व.नरेन्द्र खनाल, पदमादेवी खनाल र वीरेन्द्र खनालले अस्पताल निर्माणका लागि २ विगाह जग्गा निशुल्क उपलव्ध गराएका थिए । मेचीनगर नगरपालिका, आम्दा नेपाल र मेची उद्योग वाणिज्य संघले सार्वजनिक निजी तथा साझेदारी कार्यक्रम (पीपीपी) मोेडेल अनुसार अस्पताल संचालन गरेका हुन् ।
अस्पताल संचालन समितिमा मेचीनगर नगरपालिकाका मेयर/कार्यकारी अधिकृत अध्यक्ष, मेची उद्योग वाणिज्य संघका अध्यक्ष उपाध्यक्ष तथा आम्दाका प्रमुख सदस्य सचिव छन् । अन्य सदस्यमा नगरपालिकाका निवर्तमान मेयर, उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष र जग्गा दातामध्ये एक जना छन् ।
विगतमा पनि नगरपालिका, वाणिज्य र आम्दाको नियमित अनुदानवाट अस्पताल चलेको थियो । जव अनुदान बन्द भयो, आर्थिक अभावले अस्पताल वन्द भयो । सुविधा सम्पन्न भवन र आधुनिक उपचारका उपकरण रहेको अस्पतालमा जनरल ओपीडी, २४ घण्टा इमरजेन्सी सेवा, माइनर अप्रेसन, एम्वुलेन्स सेवा, जेष्ठ नागरिकलाई विशेष छुटसहितको सेवा उपलव्ध छ । तर, यी पूर्वाधारका बाबजुद पनि अस्पताल अलपत्र झैं छ ।
झापाको मेचीनगर नगरपालिकासंगै बाहुण्डाँगी, शान्तिनगर, धाइजन, ज्यामिरगढी, दुहागढी लगायत दक्षिण इलामका जिर्मले, कोलबुङ गाविसका सेवाग्राहीले उपचार पाउने अनुमान गरिएको यो अस्पताल संचालनमा हेल्चेक्र्याइँ हुँदा सर्वसाधारण विर्तामोड, भद्रपुर लगायतका सहर पुगेर महंगो शूल्क तिरेर उपचार गर्न वाध्य छन् ।
यस समाचार भदौ ६ गते बुधबारको रातोपोस्ट पत्रिकाको पहिलो पृष्ठमा प्रकाशित छ