झापा, १४ भदाै । झापा मेचीनगर कांग्रेसका नगर सभापति सुबेश कुमार पनेरुसँग रातोपोस्टले गरिएकाे कुराकानी :
१. कांग्रेस नगर कार्यसमिति नगरमा कतिको सक्रिय छ ?
एकदमै सक्रिय छ । हामी सधै जनतासँग हातेमालो गरेर अघि बढिरहेका छौँ । ‘नराम्रा कामको खबरदारी गर्दै राम्रो कामको समर्थन गर्नु हाम्रो कर्तव्यका साथ हामी अघि बढिरहेका छौँ । अहिले पनि मेचीनगरमा ५ हजार ३ सय २० जना पार्टीका क्रियाशील सदस्यहरु छन् । कयौँ शुभ चिन्तकहरु हुनुहुन्छ । कार्यसमितिलाई सक्रिय बनाउन तथा जनतासँग हातेमालो गर्न हामीले प्रत्येक वडाका वडा सभापतिहरुलाई सक्रिय बनाएका छौँ । जनतासँग प्रत्यक्ष जोडिने वडाका सभापतिहरुलाई सक्रिय बनाएकाले जनताका गुनासा, सुझावको कार्यान्वयन गर्दै कार्यसमिति अघि बढेको छ । समग्रमा नगर समिति सक्रिय छ ।
२. मेचीनगर कांग्रेसभित्र आन्तरिक द्वन्द्व छ भन्छन् । स्थानीय तहको निर्वाचनमा उक्त द्वन्द्व सार्वजनिक रुपमा बाहिर नै आएको थियो । यसले त पार्टीलाई नै हानी गर्दैन र ?
–द्वन्द्व नभएको होइन, थियो । तर, अहिले छैन । हामी सबै एकताका साथ एकजुट भएर क्रियाशील छौँ । आन्तरिक विवादले पार्टीलाई कति नोक्सान गर्छ भनेर हामी चेतिसकेका छौँ । जसकारण सबै मिलेर यस्ता विवादलाई समाधान गर्नुपर्छ भनेर विवाद हटिसकेको छ । अहिले कुनै विवाद छैन । हामी एकजुट छौँ ।
३. नेपाली कांग्रेस मेचीनगर कार्यसमितिले जनताको पक्षमा रहेर चाहिँ के के काम गरेको छ ?
जुन काम जनताले प्रत्यक्ष अनुभूत गरेका छन् ।
मैले यसअघि पनि भनेँ । हामी सधैँ जनतासँगै छौँ । जनताको साथ समर्थन पनि छ । जसका उदाहरणहरु मेची उद्योग वाणिज्य संघ, धुलाबारी खानेपानी उपभोक्ता समिति लगायत हुन् । मेची उद्योग वाणिज्य संघको चुनावमा अध्यक्षबाहेक अन्य अधिकांश पद हामीले जित्न सफल भयौँ भने खानेपानी संस्थामा पनि हाम्रो नेतृत्व स्थापित छ । खानेपानीमा त झन् हाम्रो प्यानलै जिताएर जनताले अत्यन्तै समर्थन गर्नुभएको छ । विद्यार्थी राजनीतिमा पनि हाम्रो नेतृत्व स्थापित छ । काँकरभिट्टा बहुमुखी क्याम्पस र त्रिदेव बहुमुखी क्याम्पसको नेतृत्व नेवि संघले पाएको छ । जनताको साथ र सहयोग विना यी सबै उपलब्धी हासिल हुने कुरै भएन । विगतमा भएका आन्तरिक विवादलाई समाधान गर्दै संघ र प्रदेशको निर्वाचनमा हामी एक भएर अघि बढ्यौँ । जसले साँच्चै राम्रो उपलब्धी हात पायौँ । अहिले पनि जनताको आवाज हामी बोलिरहेका छौँ ।
४. मेचीनगर नगरपालिकाको वर्तमान नेतृत्वले जनअपेक्षा अनुरुप काम गर्न सकेन भन्ने
जनगुनासो छ । यस विषयमा कांग्रेस नगर कार्यसमितिको नेतृत्वकर्ताको हिसाबले धारणा राखिदिनुहोस् न ।
नगरले जनताको अपेक्षा अनुरुप काम गर्न नसकेकै हो । यस विषयमा हामीले पटक पटक ध्यानाकर्षण पत्र पनि बुझाइसकेका छौँ । यही भदौ १६ गते नेपाली कांग्रेस मेचीनगर सम्मेलन पनि आयोजना हुँदैछ । उक्त नगर सम्मेलनमा पनि हामी यसअघिका गतिविधिका समिक्षा गर्दै आगामी कार्ययोजना बनाउनेछौँ । यस सम्मेलनमा हाम्रा कार्ययोजनाहरु निर्माण हुने भएकाले अब कसरी अघि बढ्ने भनेर योजना बनाउछौँ ।
५. भदौ १६ गते नगर सम्मेलनको आयोजना हुँदैछ । तयारी कहाँ पुग्यो ?
तयारी लगभग पूरा भएको छ । सबै वडाका सभापतिहरुलाई कार्यक्रमममा कार्यकर्ता तथा शुभचिन्तकसहित उपस्थित हुनका लागि पत्राचार गरिसकिएको छ । एक हजारभन्दा बढी कार्यकर्ता भेला गराएर नगर सम्मेलन गर्दैछौं । नगर सम्मेलनको प्रमुख आकर्षक हाम्रो पार्टीका महामन्त्री तथा लोकप्रिय युवा नेता गगन थापा आउने कार्यक्रम तय भएको छ ।