रातोपोस्ट संवाददाता
मेचीनगर, १९ भदौ । झापाको काँकरभिट्टाका ५१ वर्षीय दुर्गाप्रसाद दाहाल झन्डै तीन महिनायता सम्पर्कविहीन भएपछि पत्नीले खोजी गरिदिन आग्रह गरेकी छन् । आज काँकरभिट्टामा पत्रकारसँग दाहालकी पत्नी शोभा बुढाथोकीले आफ्नो पति गत असार २ गतेदेखि सम्पर्कविहीन भएको जानकारी दिइन् ।
काम गर्ने सिलसिलामा घरबाट हिँडेका दाहाल जेठमा घर आएका थिए । उनी फोनमा असार २ गतेसम्म आफूसँग सम्पर्कमा रहेको बुढाथोकीले बताइन् । साथीहरुसँग बुझ्दा असार ७ गते घर जान्छु भनेर भारतको पानीट्यांकीबाट हिँडेको बताएको बुढाथोकीको भनाइ छ ।
६ वर्षदेखि इँटा, कोइलाको व्यापार व्यवसाय गर्दै आएका उनका एक छोरा एक छोरी छन् ।