News Portal

वडाध्यक्ष कार्की भन्छन्– नगरपालिकाबाटै हरायो ७५ थान ल्यापटप

नवराज सुवेदी
४२५ पटक

मेचीनगर । मेचीनगर नगरपालिकामा वेथिति मौलाउदा सर्वसाधारणले अनावश्यक हैरानी व्यहोर्नुपरेको भन्दै समग्र वेथितिका विरुद्ध संघर्ष गरिरहेका मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्कीले नगरपालिकाबाटै ७५ थान ल्यापटप हराएको दाबी गरेका छन् । आज (आइतबार) प्रेस क्लब मेचीनगरको कार्यालय इटाभट्टामा पत्रकार सम्मेलन गर्दै उनले नगरपालिकाले खरिद गरेको ७५ थान ल्यापटप कार्यालयबाटै गायब भएको दाबी गरे ।

‘७५ वटा ल्यापटप नगरले खरिद गरेको हो, उक्त ल्यापटपका लागि पैसा तिरेको पनि देखिन्छ । तर, ल्यापटप छैन ल्यापटप कहाँ गयो ? जिन्सी शाखामा पनि कुनै तथ्यांक छैन’, पत्रकार सम्मेलनमा बोल्दै मेचीनगर ४ का वडाध्यक्ष कार्कीले भने ‘यद्यपी ल्यापटप कहाँ हरायो भनेर हामी खोज्दैछौँ ।’ यसैगरी पत्रकार सम्मेलनमार्फत उनले यसअघि कर्मचारीहरुलाई ४८ घण्टाभित्र सोधेको पश्नको जवाफ दिन भन्दै दिएको अल्टिमेटम अब नगर कार्यपालिकाले द्वन्द मिलाउने अपनत्व ग्रहण गरेको भन्दै कार्यपालिकाले नै विवाद मिलाउनेमा बिश्वस्त रहेको बताए ।

यसअघि वडाध्यक्षहरुले नगरपालिकाको गेटमै पत्रकार सम्मेलन गर्दै ८ वटा बुँदामा प्रश्न राखेर कर्मचारीहरुलाई चित्तबुझ्दो जवाफ दिन ४८ घण्टाको अल्टिमेटम दिएका थिए । त्यसपश्चात नगरमा क्रियाशिल ५ राजनीतिक दलले प्रेस विज्ञप्ती जारी गर्दै नगरपालिकामा वेथिति मौलाएको ठहर गरे । र, चाँडो भन्दा चाँडो विवाद सुल्झाउन नगर नेतृत्वलाई सुझाव दिए ।

त्यसपछि नगरपालिकामा शुक्रबार अचानक कार्यपालिका वैठक बस्यो । वडाध्यक्षहरुको भनाई अनुसार कार्यपालिका वैठकले नगरपालिका भित्रको आन्तरीक द्वन्द मिलाउने निष्कर्ष निकाल्दै आइतबार ११ बजे फेरी वैठक बस्ने र सम्पूर्ण विवाद सुल्झाएर सहज रुपमा कामकारवाही अघि बढाउने निचोड निकाल्यो । तर, यसबिचमा नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको स्वास्थ्यमा समस्या देखियो ।

नगरप्रमुख बुढाथोकी अहिले स्वास्थ्यमा समस्या देखिएका कारण घरमै आराम गरिरहेका छन् । नगरपालिकाका अनुसार नगरप्रमुख बुढाथोकीलाई अत्याधिक ज्वरो आएको छ । नगरप्रमुख बुढाथोकी विरामी भएका कारण आइतबार बस्ने भनिएको कार्यपालिका वैठक पनि बस्न सकेन । जसका कारण वडाध्यक्षहरुको कर्मचारीविरुद्धको संघर्ष पनि अब कार्यपालिकाको वैठक बस्ने मितिसम्म सरेको मेचीनगर १० का वडाध्यक्ष नारायण खनालले जानकारी दिए ।

यद्यपी अब कार्यपालिकाको वैठक कहिले बस्छ भन्ने चाहिँ यकिन छैन । यसअलवा पत्रकार सम्मेलनमार्फत वडाध्यक्षहरुले नगरपालिकाको वेथिति चिर्न आफुहरुले चालेको कदम कुनै हालतमा नरोकिने दाबी पनि गरे । ‘नगरपालिकामा देखिएको वेथिति, वेसंगती, कर्मचारीबिचको आन्तरिक द्वन्द यी सबैका विरुद्ध हामीले कठोर कदम चालेका हौँ । यो संघर्ष कुनै हालतमा पनि रोकिँदैन’, मेचीनगर ४ का वडाध्यक्ष कार्कीले भने ‘मेयर विरामी हुनुभएका कारण मात्रै हामीले संघर्ष स्थगन गरेका हौँ, फेरी बस्ने कार्यपालिका वैठकमार्फत एउटा निकास निकाल्छौँ ।’

मेचीनगरलाई यो घेराबन्दीबाट बचाउन एक दुई जना खराब कर्मचारीलाई गेटबाट भित्र पस्नै नदिनेसम्मको कदम चाल्ने उनीहरुले चेतावनी दिए । कानूनअनुसार अघि बढ्दै गर्दा पनि जनताको कुरा सुनुवाइ नभए ‘हामी जनताको अदालतबाट अघि बढ्छौँ’ उनीहरुले चेतावनी दिए ।

प्रतिकृया दिनुहोस्