मेचीनगर, २८ भदौ । सामाजिक सद्भाव कायम राख्न भदौ ३० गते मेचीनगरमा वृहत सद्भाव र्याली निकालिने भएको छ । मेचीनगरका सम्पूर्ण ओमकार परिवारको अगुवाइमा भदौ ३० गते शनिबार मोटर साइकल र्याली निकाल्न लागिएको हो ।
सामाजिक सद्भावमा खलल् पुग्ने, एक अर्काको अस्तित्व नै मेटाउने, कसैको आस्था माथी प्रहार गर्ने जस्ता कार्य मुलुकका विभिन्न क्षेत्रमा खुलेआम रुपमा भइरहँदा समेत सरकार मौन बसेको भन्दै सरकारलाई झक्झकाउन र्याली निकाल्न लागिएको हो ।
‘सनातनी धर्मावलम्बी, ओमकारसँग आवद्ध परिवार तथा गौ–पूजा गर्ने हामीलाई निरन्तर चुनौती दिँदै हाम्रो आस्थामाथी प्रहार गर्ने काम पछिल्लो समय देशका विभिन्न स्थानबाट भइरहेको छ तर सरकार भने यस्ता विषयमा मौन छ,’ मेचीनगरका कार्यक्रम संयोजक आचार्य आशुतोष खनालले भने, ‘जसका कारण यस्ता कार्य गर्ने जो कोहीलाई कारवाही गर्न सरकारसँग माग स्वरुप सद्भाव र्याली आयोजना गरिएको हो ।’
सयौँ जातजाती, धर्म संस्कृति, रितिरिवाज रहेको देशमा कसैले कसैको आस्थामाथी प्रहार गर्नु स्वीकार्य नरहेको आचार्य मुकुन्द नेपालले बताए । ‘कतै गाईगोरुको खुलेआम हत्या गर्ने, कतै सार्वजनिक रुपमै अर्को जातीलाई तुच्छ गाली गर्ने यस्ता कार्य सार्वजनिक रुपमै पटक पटक भइरहेका छन् तरपनि राज्य संयन्त्र त्यसतर्फ कडा रुपमा उत्रिएको छैन,’ उनले भने, ‘यो देश सबैको हो यहाँ माङहिम छन्, उधौली उभौली जस्ता पर्व छन् यसरी सबै मिलेर बसेको देशमा कसैले कसैको आस्थमाथी प्रहार गर्नुहुँदैन ।’
सद्भाव र्याली सम्बन्धमा प्रहरी प्रशासनलाई पनि जानकारी गराउने र र्याली शान्तीपूर्ण रहने जानकारी गराइएको छ । मेचीनगर–६ काँकरभिट्टा स्थित हनुमान मन्दिरबाट शुरु हुने र्याली नकलबन्दा–बाहुण्डाँगी हुँदै बौद्धमोडबाट पुन इटाभट्टा भएर धुलाबारी पुगेर टुंगिनेछ । र्यालीमा सयौँका संख्यामा स्वतस्फुर्त रुपमा सनातन धर्मावलम्बीहरु सहभागी हुने आचार्य शंकर अधिकारीले जानकारी दिए । र्याली समापन समारोहलाई गोलोक गोवद्र्धन् गौशालाका धार्मिक गुरु नन्दकिशोर भार्द्वाज जी महाराजले सम्बोधन गर्नेछन् उनी ओमकार परिवारका जिल्ला संयोजक समेत हुन् ।