झापा, ८ असाेज । झापामा आत्महत्या दुरुत्साहनसम्बन्धी अपराध बढ्दै गएको छ । विगत तीन वर्षको अवधिमा झापामा आत्महत्या दुरुत्साहनबाट २० जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा १२ महिला, ६ पुरुष र दुई बालिका रहेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार २०७७–०७८ मा ९ जना, २०७८–०७९ मा ६ जना, २०७९–०८० मा ४ जना र चालु आर्थिक वर्षमा एक जनाको मृत्यु भएको हो । आत्महत्या दुरुत्साहनसम्बन्धी २० वटा मुद्दा दर्ता भएका छन् ।
२०७७–०७८ मा ९ वटा , २०७८–०७९ मा ६ वटा ,२०७९–०८० मा ४ वटा र चालु आर्थिक वर्षमा एउटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनका अनुसार २० वटा मुद्दा दर्ता भएकोमा १४ वटा फर्छ्यौट भएको छ भने ६ वटा बाँकी रहेको छ । आत्महत्या दुरुत्साहन अपराधमा १३ पुरुष र ६ महिला पक्राउ परेका छन् । चार पुरुष र एक महिला फरार रहेको डीएसपी रिजालले जानकारी दिए ।