झापा, १० असाेज । नेकपा (एकीकृत समाजवादी) पार्टीले असोज १४ देखि २८ गतेसम्म मेची–महाकाली राष्ट्रिय अभियान गर्ने भएको छ । समाजवादी जिल्ला कमिटी झापाले मंगलबार काँकरभिट्टामा पत्रकार सम्मेलन गरी देश रूपान्तरणको मूल एजेन्डासहित अभियान सुरु गर्न लागेको जनाएको हो ।
प्रमुख आतिथि समाजवादीका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज पुष्पराज पोख्रेलले पूर्वी नाका काँकडभिट्टावाट प्रारम्भ हुने अभियानमा केन्द्रीय अध्यक्ष माधनकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुषाललगायतका सय भन्दा बढी नेता सहभागी बन्ने जनाए ।
असोज २८ गते सुर्खेत पुगेर अभियान समापन हुने अभियानभर अध्यक्ष नेपाल, वरिष्ठ नेता खनाललगायतका केन्द्रीय नेताहरू सहभागी बन्नेछन् । पोख्रेलले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म हुने पार्टीको राष्ट्रिय महाधिवेशन र कोशी प्रदेशमा हुन सक्ने मध्यावधी निर्वाचनलाई लक्षित गरी अभियान सुरु गर्न लागिएको जनाए । ‘हाम्रो मिसन आगामी चुनाव केन्द्रित पनि हो,’ पोख्रेलले भने, ‘आगामी निर्वाचनमा कुनै पार्टीसँग गठबन्धन नगरी सन्तोषजनक सिट जितेर राष्ट्रिय पार्टी बन्ने लक्ष्य छ ।’
पत्रकार सम्मेलनमा केन्द्रीय सदस्यहरु निलमणी बराल, सारदा घिमिरे, समाजवादी जागरण यात्रा आर्थिक विभागका संयोजक शंकर थापा, सविता भेटवाल, विपि भट्टराई र नगर अध्यक्ष हरि तिम्सिना लगायतको उपस्थित रहेकाे थियाे । जिल्ला कमिटी झापाका संयाेजक बेदराज रेग्मीको अध्यक्षतामा सम्पन्न भएकाे पत्रकार सम्मेलनकाे सञ्चालन समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देलले गरेका थिए ।