News Portal

झापा इनर्जी विद्युत् उत्पादन सुरु गर्ने तयारीमा

रातोपोस्ट संवाददाता
२८० पटक

झापा, २५ असाेज । झापाको शिवसताक्षी नगरपालिका- ४ स्थित सौर्य ऊर्जा परियोजना झापा इनर्जीले अबको डेढ महिनापछि विद्युत् उत्पादन शुरु गर्ने भएको छ ।

सोलार प्यानल आइसकेकाले अनलोडिङ र टेस्टिङ गरिसकेपछि विद्युत् उत्पादन गर्न शुरु गरिने प्रबन्ध सञ्चालक सुवास भट्टराईले बताए । उनले चार वर्षअघि नै परियोजना शुरु गरेपनि कोरोना महामारी, जग्गा व्यवस्थापनलगायतका विविध समस्याका कारण ढिलाइ भएको बताउँदै नेपाल सरकारसँग गरिएको पीपीए सम्झौताअनुसार डेढ महिना ढिलो विद्युत् उत्पादन गरी वितरण गरिने जानकारी दिए ।

कम्पनीले २५ वर्षका लागि सरकारलाई १० मेगावाट बिजुली बिक्री गर्नेगरी पीपीए सम्झौता गरेको छ । सौर्य ऊर्जाको प्लान्ट निरीक्षणका क्रममा प्रबन्ध सञ्चालक भट्टराईले पहिलो चरणमा १० कन्टेनर सोलार प्यानल आइसकेको जानकारी दिए । उनका अनुसार जम्मा ३५ कन्टेनर प्यानल आउने छ । ३५ कन्टेनरमा २२ हजार ६ सय प्यानल आयात गरिने भट्टराईले जानकारी दिए ।

झापा इनर्जीका प्रोजेक्ट को–अर्डिनेटर अभिषेख पराजुलीले ५–५ मेगावाट बिजुली उत्पादनका लागि दुई वटा स्विच यार्ड राखिने बताउँदै इन्भर्टर र ट्रान्समिटर जडानको काम पनि धमाधम भइरहेको बताए । उनले सिभिलतर्फ ९९ प्रतिशत र इलेक्ट्रो मेकानिकतर्फ ८० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए । ‘हामीले सोलार प्यानल पर्खिरहेका थियौँ ’ उनले भने,‘ सोलार प्यानल आइसकेपछि अब काम सकिन्छ ।’

उनले सौर्य ऊर्जा परियोजनामा प्यानल राख्ने बाहेकका सबै काम सम्पन्न भइसकेको जानकारी दिए । प्यानल राखिसकेपछि उत्पादन हुने १० मेगावाट बिद्युत् नेपाल विद्युत् प्राधिकरणको बुलोचोक ग्रिडमा जडान गरिनेछ । परियोजना निरीक्षणका क्रममा बिर्तामोड नगर प्रमुख एवम् सञ्चालक पवित्रा महतारा प्रसाईँले लोडसेडिङका कारण उद्योग धन्दा विस्थापित हुने अवस्थालाई मध्यनजर गरी सहज र सर्वसुलभ रुपमा विद्युत् आपूर्तिका लागि सो सौर्य ऊर्जा परियोजना सञ्चालन गरिएको बताइन् । कुल ७९ करोड ८० लाख लागत रहेको परियोजनामा सर्वसाधारणको २२ करोड र बाँकी रकम बैङ्कहरूमार्फत लगानी गरिएको छ । कम्पनीमा ७ सय जनाको सामूहिक लगानी रहेको छ । सो परियोजनालाई सोलार टुरिजम र एग्रो टुरिजमको रुपमा समेत विकास गरिने उद्देश्य रहेको प्रबन्ध सञ्चालक भट्टराईले जानकारी दिए ।

करिब २५ विगाह जमिन क्षेत्रफलमा सो सौर्य ऊर्जा परियोजना रहेको छ । नेपाल विद्युत् प्राधिकरण र झापा इनर्जीबीच विद्युत् खरिदका लागि भएको सम्झौता अनुसार परियोजनाबाट उत्पादित बिजुली विद्युत् प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्नेछ । आयोजना र प्राधिकरणबीच २०७८ मङ्सिर १२ मा विद्युत् खरिद सम्झौता भएको थियो । आयोजनाले वार्षिक एक करोड ७६ लाख १० हजार युनिट बिजुली उत्पादन गर्ने छ । यसका आधारमा आयोजनाले वार्षिक रु १२ करोड ८५ लाख रुपैयाँ आम्दानी गर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्