News Portal

एनएमसी सहकारीकाे २७ करोड ५७ लाख ९९ हजार २ सय ६६ रुपैयाँ नाफामा

रातोपोस्ट संवाददाता
२३८ पटक

झापा, २२ कार्तिक । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले आब २०७९/०८० को बार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । बिर्तामोडस्थित सहकारीको कार्यालयमा बुधबार पत्रकार सम्मेलनमा २७ करोड ५७ लाख ९९ हजार २६६ रुपैयाँ नाफा गरेको बिवरण सार्वजनिक गरेको हो । संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले बचत तथा ऋण ब्यवसायसँगै डेरी ब्यवसाय, एनएमसी एग्रो फर्म, सहकारी पसल ब्यवसाय, चिया ब्यवसाय सञ्चालन गरी पाँचवटा ब्यवसाय संचालन गर्दै आएको बताए ।

२०५० सालबाट २ लाख ५० हजारबाट सुरु गरेको एनएमसी सहकारी संस्थामा हाल १ लाख ५१ हजार ८ सय ३ सदस्य रहेको र शेयरपुँजी १ अर्व ४० करोड ५ लाख १८ हजार ६ सय रुपैयाँ रहेको बताए । संस्थागत पुँजी ७६ करोड ९२ लाख ७ हजार ६ सय ५९ रहेको र कुल प्राथमिक पुँजी २ अर्व १६ करोड १४ लाख ४६ हजार २ सय ५९ रुपैयाँ रहेको जानकारी दिए ।

अध्यक्ष शिवाकोटीले संस्थाले आर्थिक बर्ष २०७९/०८० मा कुल आम्दानी २ अर्व ५६ करोड ४१ लाख ९६ हजार ८१९ रुपैयाँ गरेको र खर्च २ अर्व २८ करोड ८३ लाख ९७ हजार ५५३ रुपैयाँ गरेर सञ्चालन नाफा २७ करोड ५७ लाख ९९ हजार २६६ रुपैयाँ गरेको बताए ।

सहकारीका ५८ वटा सेवा केन्द्र रहेको र सहकारीको कार्यक्षेत्र तीन जिल्ला झापा, इलाम र मोरङ रहेको अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । आगामी दिनमा खाद्य उद्योग संचालनका लागि प्रस्ताव अघि सारेको उल्लेख छ ।

संस्थाले आगामी मंसीर २ देखि ८ गतेसम्म इकाईगत साधारणसभा गरेर मंसिर १६ गते अन्तिम माइन्यूट प्रमाणिकरण गर्ने जनाइएको छ । सहकारी संस्थाको नियमानुसार इकाईगत साधारणसभाबाट प्रतिनिधि छनोट हुने र छनोट भएका प्रतिनिधिले अन्तिम माइन्यूट प्रमाणीकरण गरिने निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए । सामाजिक सेवा अन्तरगत सामुदायिक बिद्यालय र क्याम्पसका बिध्यार्थीलाई छात्रवृत्ति बितरण गर्दै आएको संस्थाले जेष्ठ नागरिक, अपांङ्ग-अशक्तलाई भत्ता बितरण गर्दै आएको छ ।

सहकारीले ७ सय ३७ पटक बिभिन्न ठाउँमा सदस्य शिक्षा प्रदान गरेको छ भने संस्थाका सामाजिक उत्तरदायीत्व अन्तरगत बिविध कार्य गरेको संस्थाका कार्यकारी प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्