झापा, १२ मंसिर । सशस्त्र प्रहरीले ३ सय क्युफिट अवैध काठसहित ट्रक पक्राउ गरेको छ । आइतबार बेलुकी करिब साँढे ८ बजे अर्जुनधारा नगरपालिका-३ स्थित सुखानी सहिद सहादत स्थलको गेटबाट अनुगमन तथा गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले अवैध काठ सहितको ट्रक नियन्त्रणमा लिएको हो ।
इलामको माई नगरपालिका-९ स्थित चिसापानीबाट गोलिया काठ बोकेर झापा आउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको अनुगमन टोली र सशस्त्र प्रहरी सुरक्षा बेश क्याम्प खुदुनाबारीबाट खटिएको गस्तीको संयुक्त टोलीले करिब ६ लाख मुल्य बराबरको ३ सय क्युफिट चिलाउने जातको गोलिया काठ बरामद गरेको हो । टोलीले १५ लाख मुल्य बराबरको मे १ ख २१९७ नम्बरको उक्त ट्रक समेत नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीले ट्रकका चालक पाँचथर हिलिहाङ गाउँपालिकाका बस्ने २९ वर्षीय मौसम पन्धाक र सोही स्थान बस्ने ट्रकका सह–चालक सन्देश पन्धाकलाई समेत पक्राउ गरी कनकाई सवडिभिजन वन कार्यालय सुरुङ्गामा बुझाएको छ । नक्कली दरपेट र कागजात प्रयोग गरेर अवैध ढुवानी गरेको अवस्थामा ट्रक र काठ पक्राउ परेको प्रहरीले बताएको छ ।