विराटनगर, १४ मंसिर । कोशी प्रदेश सरकारले ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ। बुधबारको प्रदेशसभा बैठकबाट आव २०८०।०८१ को विनियोजन विधेयक सर्वसम्मतिले पारित भएको हो।
कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आव २०८०।०८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० (विनियोजन विधेयक) माथि आठ जना सांसदले खर्च कटौतीको प्रस्ताव पेश गरेका थिए।
मुख्यमन्त्री केदार कार्कीले बजेटले अन्याय गरेको क्षेत्रमा कानुनको सुविधा प्रयोग गरेर सच्याउने प्रतिबद्धता गरेपछि सांसदहरूले खर्च कटौतीको प्रस्ताव फिर्ता लिए। सांसदहरूले खर्च कटौतीको प्रस्ताव फिर्ता लिएपछि बजेट अध्यादेश प्रतिस्थापन विधेयक पारित भएको हो।
तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बराबरको बजेट ल्याएका थिए। शनिबार अध्यादेश प्रतिस्थापन विधेयकमार्फत केदार कार्कीले ५० करोड थप गर्दै ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट पेश गरेका थिए। ५० करोड थप गरेर कार्कीले ल्याएको बजेट पारित भएको हो।