झापा, २८ पुस । सगरमाथा यातायात प्रालिको अध्यक्षमा नवीन कोइराला चयन भएका छन् । तीन वर्षे कार्यकालका लागि कोइराला आज सम्पन्न प्रालिको साधारणसभाबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यस अघि प्रा.लिको सञ्चालक समिति सदस्य रहेका थिए । उनी मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष समेत हुन् ।
कोइरालको नेतृत्वमा निर्वाचित नव गठित समितिको सदस्यहरुमा प्रविन थापा, कमल थापा क्षेत्री, दिपक पाण्डे, श्याम थापा, बद्रीप्रसाद उप्रेती, विनोद सुवेदी, हरिप्रसाद मैनाली र टिकाराज दहाल सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक प्रेमप्रसाद विमलीले जानकारी दिए । निर्वाचित भएसंगै कोइरालाले पूर्वमा थप सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । लामो समयदेखि सगरमाथा यातायात प्रालिद्वारा सञ्चालित बसहरुले झापाको काँकरभिट्टादेखि विराटनगर तथा धरानसम्म सेवा प्रवाह गर्दै आएका छन् ।
उनले आगामी दिनमा विराटनगर र धरानसँगै अन्य लामो रुटमा समेत सेवा सञ्चालन गर्ने जनाएका छन् । साथै उनले विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई विशेष छुटसहित सेवा सुविधा उपलब्ध गराउने बताए । सरकारको ९५ प्रतिशत भन्सार छुटमा ल्याइएका सगरमाथा प्रालिद्वारा सञ्चालित ३० वटा बसहरु सञ्चालनमा रहेको जनाइएको छ । कार्यक्रममा मेचीनगर नगरपालिकाका निवर्तमान नगर प्रमुख विमल आचार्य, संस्थाका निवर्तमान अध्यक्ष मेदनीप्रसाद खरेल, संस्थापक अध्यक्ष खगेन्द्र उप्रेती, प्रबन्ध निर्देशक प्रविन थापा लगायतले कोइराला सहित उनको टिमलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।