झापा, २८ पुस । झापाकाे मेचीनगर- ४ स्थित शुभ चिया सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सहकारी संस्थाको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन नेपाली काँग्रेसका महामन्त्री एवम् संघीय सांसद विश्वप्रकाश शर्माले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि शर्मा, मेचीनगर- ४ का वडाध्यक्ष अर्जुन कुमार कार्की, नागरिक समाजका अध्यक्ष निलकण्ठ तिवारी लगायतले बोलेका थिए । साधारण सभाले तीन वर्षे कार्यकालका लागि अध्यक्षमा रमेश दाहाललाई सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित समितिको उपाध्यक्षमा थीर प्रसाद गौतम, सदस्यहरुमा हेमराज भारती, ढुण्डीराज पौडेल, यज्ञप्रसाद भण्डारी, नविनराज भारती, सूर्य बहादुर राई, श्रीकुमार राई, सुनिता राउत, राधा नेपाल र मुकुन्द थापा रहेका छन् ।
त्यसैगरी साधारण सभाले लोकनाथ लामिछानेको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत गठन गरेको छ । लेखा समितिको सदस्यहरुमा केशर बहादुर बस्नेत र चण्डी पौडेल रहेका छन् । सहकारी संस्थाका अध्यक्ष समशेर बहादुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष खड्काले अध्यक्षको प्रतिवेदन तथा लेखा संयोजक रमेश दाहालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष केशर बहादुर बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक सचिन निरौलाले गरेका थिए ।