News Portal

बाल कल्याण माविमा शुरु भयो स्वर्ण महोत्सव, आज बर्ष उत्कृष्ट शिक्षक र अभिभावकलाई सम्मान

रातोपोस्ट संवाददाता
२५९ पटक

मेचीनगर, २ फागुन । मेचीनगर –५ स्थित बालकल्याण माध्यमिक विद्यालयले विविध कार्यक्रमका साथ बुधबारदेखि दुई दिवसीय स्वर्ण महोत्सव सुरु गरेको छ । २०३१ सालमा स्थापना भएको सो विद्यालयले ५० वर्ष पुगेको अवसरमा वर्ष उत्कृष्ट, शिक्षक, अभिभावक, विद्यार्थी र दाताहरुलाई सम्मान गर्दै स्वर्ण महोत्सव सुरु गरेको हो ।

बुधबार पहिलोदिन विद्यालयले वर्ष उत्कृष्ट शिक्षक र वर्ष उत्कृष्ट अभिभावकलाई सम्मान गरेको छ भने विद्यालयमा बिभिन्न माध्यमबाट आर्थिक सहयोग गर्ने दाताहरुलाई समेत सम्मान पत्र प्रदान गरिएको छ । कार्यक्रमलाई रोचक बनाउन विद्यार्थीहरुको एकल तथा सामुहिक नृत्य प्रस्तुत गरिएको थियो । विद्यालयले स्वर्ण महोत्सवको अवसरमा यस अघि साताब्यापी खेलकुदका कार्यक्रम समेत सम्पन्न गरेको थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र गिरीको सभापतित्व तथा मेचीनगर– ५ का वडाध्यक्ष कनक बहादुर कार्कीको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन कार्यक्रममा मेची कृषक बहुमुखी सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकी, विद्यालयको अक्षयकोषदाता ज्योती प्रकाश पाठक, विद्यालयका पूर्व ब्यवस्थापन समिति अध्यक्ष तिलकचन सुब्बा, विद्यालयका पूर्व प्रधानाध्यापक विष्णुनारायण श्रेष्ठ लगायतले बोलेका थिए ।

विद्यालयले वर्ष उत्कृष्ट शिक्षक सम्मान शिक्षक सन्तलाल माझिलाई प्रदान गरेको छ । भने वर्ष उत्कृष्ट अभिभावक सम्मान सीता भट्टराईले प्राप्त गरिन् । विद्यालयले स्व.ओमनाथ ऋतुकुमारी स्मृति अक्षयकोषबाट सो सम्मान प्रदान गरेको हो । सम्मानित दुवैजनालाई नगद ५ हजार सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । उनीहरुलाई अक्षयकोषदाता भवानी शंकर पाठक, ज्योतीप्रकाश पाठक र नरेन्द्रकुमार पाठकले संयुक्त रुपमा सो सम्मान प्रदान गरेका थिए ।

स्वर्ण महोत्सवको अवसरमा बिभिन्न दाताहरुले विद्यालयलाई सहयोग समेत प्रदान गरेका छन् । विद्यालयमा दाताहरुबाटै स्वर्ण स्तम्भ निर्माण गरिएको छ भने सरस्वती माताको मन्दिर समेत निर्माण गरिएको छ । विद्यालयका साहयक प्रधानाध्यापक राजिव गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक कुलमणि भण्डारी(राजेश)ले गरेका थिए । दोस्रो चरणको कार्यक्रम भोलि भब्य रुपमा सम्पन्न हुने विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद न्यौपानेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्