News Portal

लाखौँ खर्चेर भवन बन्यो, ट्राफिक प्रहरी घुम्तीमै

रातोपोस्ट संवाददाता
२२५ पटक

मेचीनगर, ६ फागुन । २२ लाखभन्दा धेरै रकम खर्च गरेर बनेको ट्राफिक प्रहरी पोष्टको भवन सुनसान छ । कागजपत्र लिने ठाउँ लेखिएको कक्ष बन्द छ । पूर्व-पश्चिम राजमार्गको दक्षिणमा रहेको भवनको झ्यालका सिसा लागेका छन्, ढोका प्राय बन्द छ । दुई दशक भन्दा धेरै समय घुम्तीमा रहेर सेवा दिएको ट्राफिक प्रहरीका लागि काँकरभिट्टामा बनेको भवनको अवस्था अहिले यस्तै छ ।

जुन भवनको निर्माण कार्य सकेर एक महिनाअघि धुमधामका साथ उद्घाटन गरिएको थियो । ट्राफिक प्रहरीलाई सेवा दिनका लागि सहज हुने उद्देश्यका साथ निर्माण भएको उक्त भवन उद्घाटन भएको एक महिना बितिसक्दा पनि बन्द जस्तै छ । ट्राफिक प्रहरी त्यहाँ आवासका लागि मात्रै पुग्छन् अन्य काम कारबाही भने पहिलाकै घुम्तीबाट भइरहेको छ ।

भवनको निर्माण सकेर त्यत्रो बाजागाजासहित उद्घाटन हुँदा धेरैलाई लागेको थियो । अब सडकपेटीबाट ट्राफिक घुम्ती हटाइन्छ र भवनबाट सेवा दिइन्छ । तर, अहिले त्यस्तो भएको छैन । ट्राफिक प्रहरीलाई आवासका लागि सहज भएपनि सेवा भने घुम्तीबाट नै दिइरहेका छन् । जुन घुम्तीको ट्राफिक प्रहरीले मासिक रुपमा भाडा समेत बुझाइरहेको छ ।

यस विषयमा बुझ्दा ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका इन्चार्ज मनमोहन पौडेलले भवन अगाडी रुख रहेको र उक्त रुख काटिएपछि भवनबाट सेवा दिइने बताए । ‘भवन अगाडी रुख छन्, जसले गर्दा काम गर्न असहज हुने ठानेर नसारिएको हो । रुख कटान भएपछि भवनबाट नै सबै कामकारवाही शुरु हुन्छ,’ उनले भने ‘भवन अगाडी सडकको पेटीमा इँटाको बार र टिनको छानो लगाएर पोष्ट पनि निर्माण गर्ने योजना छ, जहाँबाट सवारीलाई सेवा दिन सहज हुन्छ ।’

भवनबाट सेवा दिँदा भाडा स्वरुप बुझाउँदै आएको मासिक दुई हजारदेखि २५ सय रकम बचत समेत हुने उनले बताए । काँकरभिट्टा स्थित मेची भन्सार कार्यालयको स्वामित्वमा रहेको जग्गामा आवाससहितको चार कोठे पक्की भवनको निर्माण सम्पन्न पश्चात गत माघ ७ गते उद्घाटन गरिएको थियो । मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल संयोजकत्वको निर्माण समितिले स्थानीय दाताहरुको सहयोगमा भवन निर्मााण सकेर ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको थियो ।

प्रतिकृया दिनुहोस्