News Portal

हिकोला होटल विवाद: देविभक्तलाई होटल चलाउन दिनु भनी अदालतको अन्तरिम आदेश

रातोपोस्ट संवाददाता
१७६ पटक

मेचीनगर, ७ फागुन । मेचीनगर ६ स्थित काँकरभिट्टामा रहेको होटल हिकोला हेरिटेज संचालनका सन्दर्भमा व्यवसायी देवीभक्त श्रेष्ठको पक्षमा अन्तरिम आदेश जारी भएको छ । उच्च अदालत बिराटनगरले व्यवसायी श्रेष्ठको पक्षमा अन्तरिम आदेश जारी गर्दै होटल संचालनका लागि बाटो खोलिदिएको हो । अदालतले होटल सञ्चालन गर्न दिनु भनि घरधनी विष्णुमाया श्रेष्ठ दाहालका नाममा आइतबार अन्तरिम आदेश जारी गरेको छ । अदालतका न्यायाधीश किरण पौडेलको इजलासबाट उक्त आदेश जारी भएको हो ।

व्यवसायी देवीभक्त श्रेष्ठले होटल सञ्चालन गर्नका लागि मेचीनगर-६ काँकरभिट्टामा स्थानीय विष्णुमाया श्रेष्ठ दाहालको घर १५ वर्षका लागि लिखित सम्झौता गरी भाडामा लिएका थिए । सम्झौता बमोजिम २०७६ मा भाडामा लिइएको उक्त घरमा होटल सञ्चालन भइरहेकै अवस्थामा घरधनी दाहाल र व्यवसायी श्रेष्ठबीच विवाद उत्पन्न भएपछि मध्यस्थता गर्न मेचीनगर नगरपालिकाले मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईको संयोजकत्वमा गठन गरेको समितिले हाल होटलमा तालाबन्दी गरेको छ ।

सोही विषयमा घरधनी विष्णुमाया श्रेष्ठ दाहाललाई विपक्षी बनाएर परमादेश र निषेधाज्ञा माग्दै व्यवसायी देवीभक्त श्रेष्ठ अदालत पुगेका थिए । अदालतले मुद्दाका दुबै पक्षलाई छलफलका लागि बोलाउँदै यही फागुन १३ गते पेशी पनि तोकेको छ । उक्त छलफल नहुञ्जेलसम्मका लागि रीट निवेदक श्रेष्ठलाई होटल चलाउन दिन अन्तरिम आदेश जारी भएको हो ।

अदालत निवेदकको माग बमोजिम परामादेश र निषेधाज्ञा जारी किन नगर्ने ? भनेर घरधनी बिष्णुमाया श्रेष्ठ दाहाललाई १५ दिनभित्र अदालतमा जवाफ पेश गर्न आफुसंग भएको सम्पूणर् कागजात सहित उपस्थीत हुन समेत आदेश जारी गरेको छ ।

प्रतिकृया दिनुहोस्