News Portal

बाहुण्डाँगीबाट शुरु भयो मुख्यमन्त्रीको हात्तीमैत्री पदयात्रा

रातोपोस्ट संवाददाता
१४२ पटक

मेचीनगर, ९ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुण्डाँगीस्थित प्रसाद गौडाबाट हात्ती प्रभावित क्षेत्रमा पदयात्रा शुरु गरेका छन् । ‘जीव/जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि’ भन्ने नाराका साथ नेपाल-भारत सीमाको मेची खोला तीरमा हात्ती नेपालतर्फ प्रवेश गर्ने नाकाबाट आज पदयात्रा शुरु भएको हो ।

हात्तीको परम्परागत जैविक मार्गको पुनःस्थापना तथा बासस्थानको संरक्षण एवम् मानव-हात्ती द्वन्द न्यूनीकरण गर्दै संरक्षणमा सहअस्तित्व र हात्तीमैत्री पर्यापर्यटन विकास गर्ने पदयात्राको उद्देश्य रहेको बताइएको छ । कोशी सरकारले पर्यावरण संरक्षण गर्ने उद्देश्यसहित ‘जसको जंगल उसको मंगल’ कार्यक्रम बजेटमार्फत नै अघि सारेको छ ।

शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री कार्कीले हात्ती र मानवबिचको द्वन्द्व घटाउन र समस्या पहिचान गर्न पदयात्रा शुरु गरिएको बताएका छन् । “जनता र हात्ती दुबैलाई दुःख नहुने गरी समस्या समाधान खोज्न हामी गाउँ बस्तीमा आफैं आएका हौं, छलफल गरेर योजना बनाउन र बजेट बनाउन आएका हौं’, उनले भने “जीव, जंगल, जनावर, मानिस सबैको संरक्षण गर्ने अभियान हो । समस्या पहिचान गर्ने प्रयास हो । सिंगो सरकार जनताको ठाउँमा समस्या हेर्न आएका हौं । दुःख बुझ्न आएका हौं ।’

सबैभन्दा बढी मानिसले ज्यान गुमाएको ठाउँमा आइ दुःखको कुरा सुन्दै अघि बढ्ने र हात्तीको ज्यानको पनि संरक्षण गरिने मुख्यमन्त्री कार्कीले बताए । बाहुण्डाँगीबाट सुरु भएको यात्रा फागुन १६ गते उदयपुर जिल्लाको बेलसोतमा पुगेर सम्पन्न हुने बताइएको छ । पदयात्रामा प्रदेशका सरकारी एवं गैरसरकारी निकाय, संरक्षणकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, हात्तीविज्ञ, नागरिक समाज एवं आम नागरिकहरुको सहभागिता छ ।

पदयात्रा शुभारम्भ कार्यक्रममा प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेती, कृषिमन्त्री रामकुमार खत्री, भौतिक पूर्वाधार मन्त्री कमल जबेगु, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, हात्ती पीडित परिवारकी जगनमाया थापा लगायत धेरैको सहभागीता थियो । गाइनेहरुले हात्ती तथा पर्यावरण संरक्षणको सन्देशमुलक गीत गाएर अभियान शुरु गरिएको थियो ।

प्रतिकृया दिनुहोस्