News Portal

कुराकानी: पूर्वीनाकाप्रतिको अस्ताउँदो आशा

नवराज सुवेदी
२५० पटक

झापा, ९ फागुन । पछिल्लो समय एउटा चर्चा सर्वत्र छ । ‘पूर्वीनाकाबाट पर्यटक आवागमन घट्यो, विविध कारणले पूर्वीनाकाको अवस्था संकटमा पर्दैछ’ भनेर । काँकरभिट्टा मात्रै नभएर देशका हरेक स्थानमा यस सन्दर्भमा बहस भइरहेका छन् । नाकामा भइरहेको चेकिङको हैरानी, भारत स्थित पश्चिम बंगाल सरकारको कडाई, यातायातमा कमिसनको खेल लगायत अनेकन क्रियाकलापले पर्यटक आवागमन घटेको भनेर चर्चा हुने गरेको छ । जुन सन्दर्भमा यसपटक रातोपोष्टले वास्तविकता जान्ने प्रयास गरेको छ । पूर्वको सिमान्त सहर काँकरभिट्टामा रहेर सिमावर्ती समस्याका बारेमा जानकार ट्राभल संघ झापाका अध्यक्ष समेत रहेका निरबहादुर कार्की (नेत्र) सँग रातोपोष्ट पत्रीकाले नाकाका सन्दर्भमा गरेको कुराकानी यहाँ प्रस्तुत छ :

१. पूर्वीनाकाको अवस्था खस्कँदो छ । पर्यटकले पूर्वीनाका काँकरभिट्टाको प्रयोग गर्न छाडेर अन्यत्रको नाका प्रयोग गर्न थाले भनेर पछिल्लो समय सर्वत्र चर्चा छ । के यथार्थ यही हो ?

यथार्थ यस्तै नै छ । सिमामा भइरहेको अनेकन हैरानीले साँच्चैनै पर्यटकले अन्यत्रको नाका प्रयोग गर्न थालेका छन् । पर्यटकले अहिले काँकरभिट्टा नभएर बिरगंज, पशुपतिनगर, जोगमनी जस्ता नाका प्रयोग गर्न थालेका छन् । यसका पछाडी धेरै कारणहरु छन् । भारत स्थित पश्चिम बंगाल सरकारले गरिरहेको कडाई, यात्रुले मेची पुलमाथि भोग्नुपर्ने हैरानी, नाकामा सिटि सफारी जस्ता साधनले गर्ने व्यवहार, यातायातका साधनमा भइरहेको कमिशनका खेल पर्यटकको आवागमन घट्नुका मुख्य कारणहरु हुन् ।

मेची पुलको मुखबाट सुरु भएको प्रहरी चेकिङ धेरै ठाउँमा छन् । सशस्त्र प्रहरीले गर्ने चेकिङ, नेपाल प्रहरीले गर्ने चेकिङ, भन्सारको जाँच गर्दा गर्दै एउटा पर्यटक धेरै ठाउँमा चेकमा पर्छन् । सिमावर्ती क्षेत्र भएकाले चेक त गर्नैपर्छ तरपनि एक स्थानमा व्यवस्थित तवरबाट चेकजाँच गर्न पाए पर्यटकलाई हैरानी हुँदैन थियो होला ! जसले पर्यटकलाई सहज बनाउँथ्यो ।

यति मात्र होइन पर्यटकहरु यातायातले लिने भाडामा समेत ठगिन्छन् । यातायातका कर्मचारीले चिनेजानेका अर्थात टाठाबाठा मान्छेलाई गर्ने व्यवहार र नचिनेका सोझालाई गर्ने व्यवहार नै फरक रहेको मैले अनुभुति गरेका छु । १६ सय लिनुपर्ने ठाउँमा एकजना पर्यटकबाट २५ सय रुपैँया लिएको पनि मैले पाएको छु । जसले बिश्वास समेत हराउँदै गएको छ । यस्ता प्रकारका क्रियाकलापले पर्यटक काँकरभिट्टा नाकाको नाकाको विकल्प खोज्न बाध्य भएको मैले ठानेको छु ।

२. यी त भए समस्याका कुरा, अब यसका समाधानका पाटा पनि होलान् नी !

पक्कै छन् । समस्या भएपछि समाधान पनि हुन्छन् । तर, कुरा चासोको हो । नाकामा समस्या छ सबैलाई थाहा छ । तर, समस्या समाधानप्रति चासो कसैको भएको त्यति पाइँदैन । बजार व्यवस्थापन, यातायात व्यवस्थापन लगायत धेरै काम गर्नका लागि यहाँ धेरै समिति पनि बनेका छन् । ती समितिहरुले प्रमुख रुपमा यस्ता समस्यालाई चासो दिएर काम गर्ने हो भने समस्याको समाधान निस्कन्छ ।

स्थानीय सरकारको रुपमा रहेको मेचीनगर नगरपालिका, नगरपालिका मातहत बनेको समितिहरु, इलाका प्रहरी कार्यालय, भन्सार सबै एकजुट भएर छलफलमार्फत निश्कर्षमा पुगी कार्यान्वयन गर्ने हो भने समस्याको समाधान भेटिन्छ । प्रहरी चेकिङलाई एकिकृत बनाउने, ट्राफिक प्रहरीसँग समन्वय गरी सिटि रिक्साको नियन्त्रण र व्यवस्थापन गर्ने जस्ता उपाय अपनाइयो भने नाका पुरानो लयमा फर्कने सम्भावना धेरै छ । अन्यथा नाकाको अवस्था बिकराल हुन्छ भन्न सकिन्न ।

३. तपाँई त ट्राभल संघमा पनि आवद्ध हुनुहुन्छ । स्थानीय पर्यटनलाई प्रवद्र्धन गर्ने उपायहरुका बारेमा तपाँईको संघमा छलफल हुने गरेको छ ? पर्यटक तान्नलाई त पर्यटनको क्षेत्र फराकिलो हुनुपर्यो नि होइन र ?

पक्कैपनि हामीले यस सन्दर्भमा धेरैपल्ट छलफल गरेका छौँ । काँकरभिट्टा क्षेत्रमा खुलेका आँखा अस्पतालहरुले स्थानीय पर्यटनको सम्भावनालाई बलियो बनाएका छन् । आँखा उपचार गर्न आउनेहरु यहिँका होटलहरुमा बस्छन् । उनीहरुले हामीलाई यहाँका पर्यटकिय स्थलहरुका बारेमा सोध्ने पनि गरेका छन् ।

हामीले मेचीनगरकै पातालगंगा, कृष्णथुम्की जस्ता पर्यटकिय स्थलबारे जानकारी गराउँदै घुम्नका लागि प्रेरित पनि गर्ने गरेका छौँ । पर्यटक तान्नलाई पर्यटकिय स्थलहरु धेरै छन् । जसलाई लक्षित गर्दै हामी प्याकेजको पनि व्यवस्था गर्ने प्रयासमा छौँ ।

प्रतिकृया दिनुहोस्