News Portal

संघिय सरकारको बजेटमा मेचीनगरको हस्तक्षेप !

नवराज सुवेदी
१८५ पटक

मेचीनगर, १८ फागुन । झापाको मेचीनगर-८ स्थित आदर्श माध्यमिक विद्यालयले संघिय सरकारको विशेष अनुदान मार्फत प्राप्त गर्नुपर्ने करिब ५ करोड रकम मेचीनगर नगरपालिकाले रोकिदिएको दाबी गरेको छ ।

विद्यालयमा संरचना अभाव भइरहेको अवस्थामा स्तरोन्नती र संरचना निर्माणका लागि संघिय सरकारले विद्यालयलाई क्रमागत रुपमा तीन बर्षमा दिने गरी ६ करोड ९ लाख भन्दा धेरै रकम छुट्याएकोमा पहिलो बर्ष आउने रकम आएपछि अरु रकम नगरपालिकाले रोकिदिएको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पूणर्बहादुर खड्काले विद्यालय पसिरमा आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

‘यो रकम (६ करोड ९ लाख १३ हजार ४८६ रुपैँया) आदर्श माविका लागि छुट्टीएको हो, गिरिराजमणी पोख्रेल संघिय सरकारका शिक्षा मन्त्री भएका बेला उहाँलाई स्थलगत रुपमै विद्यालयमा उपस्थित गराएर हामीले जिर्ण संरचनाहरुको अवलोकन गराएका थियौँ । यसअलवा अरुपनि धेरै पहलमा मात्रै विद्यालयमा सरकारको निकाय राष्ट्रिय योजना आयोगबाट बजेट स्वीकृत भएको थियो,’ उनले भने, ‘तर पहिलो बर्षको एक करोड १५ लाख बजेट आएपछि अन्य रकम स्थगन गर्न भन्दै नगरपालिकाले कार्यपालिका वैठकको निणर्य पठाइदियो ।’

यस रकम आदर्श माविका लागि छुट्टीएकाले अन्य विद्यालयमा लान नसकिने उनको दाबी छ । ‘हामीले राज्यका धेरै निकायहरुसँग बुझ्यौँ क्रमागत रुपमा आदर्श माविका लागि छुट्टीएको उक्त रकम अन्यत्र कतै लान नसकिने जवाफ पायौँ’, उनी भन्छन्, ‘अन्यत्र लान नसकिने भएपछि रकम फ्रिज भएर जान्छ, जुन स्थानीय सरकारका लागि नोक्सानीको विषय हो ।’

विद्यालयका प्रधानाध्यापक कृष्ण पुरीले पनि नगरपालिकाले शुरुमा आफै सिफारिस दिएर बजेट ल्याउने प्रक्रिया शुरु गरेको र फेरि आफ्नै सिफारिसमा बजेट रोकिदिएको दाबी गरे । ‘संघिय सरकारको विशेष अनुदान ल्याउन स्थानीय सरकारको सिफारिस नै चाहिन्छ, शुरुमा नगरले सिफारिस गरेको पनि हो तर, अहिले भने नगरपालिका आफै बजेट ल्याउनमा बाधक बन्यो’, उनको प्रश्न छ ‘यदि यत्रो करोडौँ रकम कतै प्रयोग भएन र फ्रिज भयो भने यसको जिम्मेवारी को ?’

संघिय सरकारबाट प्राप्त भएको एक करोड १५ लाख बजेटबाट भ्याटसहित ८२ लाखमा ठेक्का लागेर विद्यालय परिसरमा अहिले ८ कोठे भवन निर्माण पनि भइरहेको छ । ठेक्का लागिसकेकाले उक्त भवन पुरा पनि हुन्छ । तर, विद्यालयको दिर्घकालिन योजना अनुरुप १८ कोठे भवन बनाउने योजनामा भने नगरपालिका बाधक बनेको प्रधानाध्यापक पुरी बताउँछन् ।

यस विषयमा नगरपालिकामा पटक पटक बुझ्दा नगरपालिकाले ‘नगरमा अन्य पनि विद्यालय छन् । अधिकांशको भवन जिर्ण छ, सबैलाई समान रुपले हेर्नुपर्ने बाध्यता रहेको भन्दै यसपटक अन्य विद्यालयलाई सिफारिस गरिदिएको’ जवाफ दिने गरेको विद्यालयका शिक्षक अभिभावक संघ अध्यक्ष भोलानाथ तिम्सिना बताउँछन् । ‘तर, नगरपालिकाले भने बमोजिम यस रकम अन्य विद्यालयमा लान मिल्दैन’, उनको दाबी छ ।

सँगै विद्यालयले के पनि दाबी गरेको छ भने, ‘मेचीनगरले अहिलेसम्म संघिय सरकारको विषेश अनुदानबाट धेरै बजेट ल्याउनै सकेको छैन । एउटा ‘ल्याण्डफिल साइड’ का लागि बजेट आएपनि अन्य बजेट आएकै छैन । यो बजेट विद्यालयकै पहलमा आएको हो ।’ तर, विद्यालयको यस दाबीलाई नगरपालिकाले खण्डन गरेको छ ।

विद्यालयको यस्तो आरोप आइसकेपछि सत्यता बुझ्न हामी नगरपालिका पुग्यौँ । उक्त क्रममा नगरपालिकाले विद्यालयले लगाएको आरोप झुटो भएको ठहर गर्यो । ‘यहाँ बुझाबुझ भएको छैन । विशेष अनुदानबाट आउने रकम नगरपालिकाले बर्षेनी ल्याइरहेको छ । यो रकम पनि नगरपालिकाकै सिफारिसमा आएको हो’, मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी भन्छन् ‘नगरमा ४२ वटा विद्यालय छन् । सबैको भवन जिर्ण छ । त्यसैले यस बर्ष आदर्श माविमा भवन बन्यो । अब अन्यमा पनि भवन बनाउनपर्छ भनेर अन्य विद्यालयको नाम सिफारिस गरेका हौँ ।’

विद्यालयले ‘आफ्नो मात्रै बजेट आफ्नो मात्र पहलमा आएको’ भनेर जसरी भनिरहेको छ, समस्या यहाँबाट सृजना भएको उनको भनाई छ । ‘संघिय सरकारबाट बजेट ल्याउने त छुट्टै शुत्र छ । जुन नगरपालिकाको आधिकारिक प्रणालीबाट संचालित हुन्छ ।’, नगरप्रमुख बुढाथोकी भन्छन् ‘नगरपालिकाले शुरुमा सिफारिस दिएको हो, विद्यालयमा भवन पनि बन्यो, अब अन्य विद्यालयलाई प्राथमिकतामा राख्ने भनेर कार्यपालका वैठकले आदर्श माविलाई दिँदै गरेको बजेट स्थगन गर्नु भनेर राष्ट्रिय योजना आयोगमा पठाएको हो ।’

राष्ट्रिय योजना आयोगबाट विद्यालयका लागि ६ करोड ९ लाख बढीको रकम स्वीकृत भएको कुरा जुन विद्यालयले भनिरहेको छ, उक्त कुरा आफुहरुलाई थाहा नै नभएको पनि नगरपालिका बताउँछ । ‘कहाँ स्वीकृत भएको छ, हामीलाई त थाहा नै छैन । पत्र पनि आएको छैन ।’ नगरप्रमुख बुढाथोकी भन्छन् ।

नगरपालिकाले आदर्श माविले प्राप्त गर्ने क्रमागत रकम स्थगन गर्नु भनेर निणर्य पठाएको र विशेष अनुदानबाट प्राप्त बजेटबाट भवन निर्माणका लागि ज्यामिरगढी मावि र शहिद दशरथचन्द माविलाई सिफारिस गरेको बताइएको छ ।

यस विषयमा हामीले राष्ट्रिय योजना आयोगमा समेत सम्पर्क गरेर आदर्श माविका लागि छुट्टीएको बजेट अन्यत्र लान मिल्छ कि मिल्दैन ? भनेर बुझ्ने प्रयास गर्यौँ । उक्त क्रममा एउटा विद्यालयलाई यदि क्रमागत रुपमा बजेट छुट्टीएको हो भने उक्त बजेट अन्यत्र लान नमिल्ने जवाफ पायौँ । राष्ट्रिय योजना आयोगका सहायक प्रवक्ता तथा कार्यक्रम निर्देशक डा. दिवाकर लुइटेलले रातोपोष्टसँगको कुराकानीमा भने ‘यदि क्रमागत रुपमा एउटा विद्यालयलाई बजेट छुट्टीएको हो भने उक्त रकम अन्यत्र लान मिल्दैन ।’

प्रतिकृया दिनुहोस्