झापा, २१ फागुन । मोरङमा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) सोमबार दिउँसो झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
धनपालथान गाउँपालिका-३ स्थित बोर्डर आउट पोस्ट (बीओपी) सोराभागका इन्चार्जसमेत रहेका डीएसपी उपेन्द्र बस्याललाई केहीबेर अघि मृत फेला पारिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।
उनका अनुसार कार्यालयभित्र डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको हो । घटनाका सम्बन्धमा थप जानकारी आइनसकेको तिमल्सिनाले बताए । बस्यालले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । एसपी तिमल्सिनाले अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने बताए ।
अनुसन्धानका लागि नेपाल प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ । सशस्त्र प्रहरीका अधिकारी पनि घटनास्थलमा पुगिसकेका छन् ।
अन्नपूर्ण पोस्टबाट