News Portal

घाइतेहरुको उपचारमा गम्भीर लापारवाही, पैसा अभावमा उपचार नै रोकियो

नवराज सुवेदी
२०२ पटक

झापा, २२ फागुन । गत शुक्रबार साँझ सशस्त्र प्रहरीको खुकुरी प्रहारबाट घाइते भएका सर्वसाधारणहरुको उपचारमा गम्भीर लापारवाही भएको पाइएको छ । पैसा अभावमा उनीहरुको उपचार नै रोकिएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका ५ जनाको अहिले विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

तर, पैसा अभावमा उनीहरुको उपचार नै रोकिएको हो । घाइतेमध्ये तीन जना आइसीयुमा छन् भने दुई जना बेडमा छन् । आइसीयुमा भएकाहरुलाई अस्पतालले हिजो (सोमबार) ११ बजेदेखि नै पैसा तिरेर आइसीयुबाट निकाल भनेर अस्पतालमा बस्ने आफन्तहरुलाई भनिरहेको छ । तर, अस्पताललाई बुझाउने पैसा नभएका कारण अहिलेसम्म निकाल्न नसकेको घाइतेहरुकी आफन्त पार्वती बाँतरले बताइन् ।

‘हिजै ११ बजेदेखि निकाल भनेर अस्पतालले भनेको भनै छ, अहिलेसम्म पनि अस्पतालले अहिले नै निकाल भनेर प्रेसर गरिरहेको छ । तर, पैसा नै छैन, कसरी निकाल्ने ?’, रातोपोष्टसँगको कुराकानीमा रुँदैरुँदै उनले भनिन्, ‘कसैले सोध्दैन पनि खोज्दैन पनि, हाम्रो त बिजोग भयो । गरिबको साहरा कोही छैन रहेछ ।’

उनका अनुसार आइसियुमा रहेका ३ जनाको बिल क्रमशः एक जनाको एक लाख ७५ हजार, अर्को ७५ हजार र अर्को ७३ हजारको बिल आएको छ । त्यत्रो रकम उनीहरुसँग छैन । जसका कारण पैसा अभावमा उनीहरुको उपचार नै रोकिएको हो ।

बाँतरका अनुसार ४० टाँका लगाइएका भाइ हिजो बेहोस नै भएका थिए । अबेर मात्रै उनको होस आएको हो । उनले सँधै दुख्यो दुख्यो भनेर रुने गरेको बातर सुनाउँछिन् । घाइतेको उपचारमा कतिसम्म लापारवाही भएको छ भने उनीहरुले राम्रोसँग खानासमेत खान पाएका छैनन् । यत्रो रकम तिरेर आइसियुमा भएकाहरुलाई कसरी निकाल्ने बाँतर अन्योलमा छिन् ।
यो रकम कसले तिरिदिने हो उनलाई त्यो पनि थाहा छैन । उनलाई यत्ति थाहा छ । समयमै निकालेन र थप उपचार भएन भने घाइतेहरु झन् गम्भीर बन्छन् । तर, निकाल्ने कसरी ? पैसा कसले दिने ? उनी अन्योलमा छिन् ।

घट्ना बाहिरएपछि घाइतेहरुका पक्षमा विभिन्न विज्ञप्तीहरु आए । उपचारमा कुनै कमि हुन नदिन भन्दै सबैले खबरदारी गरे । तर, घाइतेहरुको अवस्था भने अहिले यस्तो विकराल छ । घट्ना पश्चात विभिन्न व्यक्तिदेखि विभिन्न निकायले उपचारको कमी हुँदैन भनेर ग्यारेन्टी गरेपनि अहिले पैसा अभावमा उपचार नै रोकिँदा आफुहरुलाई राज्य छ, सरकार छ भनेर आभास नै नभएको घाइतेहरुका अर्का आफन्त राज कुमार बातरले बताए ।

उनी भन्छन् ‘अस्ती वातार्मा बस्दा धेरैले चिन्ता नलिनु उपचारमा कमी हुँदैन भनेर भने तर, अहिले खोइ ति मानिस र निकायहरु ?’

प्रतिकृया दिनुहोस्