News Portal

काँकरभिट्टामा सप्ताहव्यापी ऊर्जा ध्यान साधना शिविर सम्पन्न

रातोपोस्ट संवाददाता
२३५ पटक

झापा, ३ चैत । आदर्श मावि २०४२ (एसएलसी) समूहद्वारा आयोजना गरिएको सप्ताहव्यापी ऊर्जा ध्यान साधना शिविर सम्पन्न भएको छ । स्थानीय जनसमुदायलाई शारीरिक र मानसिक स्वास्थ्यप्रति सजग तथा जागरूक रहन सहयोग पु¥याउने उद्देश्यका साथ शिविर सम्पन्न भएको हो ।
मेची सामुदायिक भवन काँकरभिट्टामा फागुन २६ गतेदेखि सञ्चालित शिविरलाई मेचीनगर- ६ नम्बर वडा कार्यालयको आर्थिक सहयोग रहेको थियो । समापन कार्यक्रममा कोशी प्रदेशका सांसद गोपाल तामाङको प्रमुख आतिथ्य रहेको थियो ।

पूर्व काँकरभिट्टा गाविसका अध्यक्ष डिल्लीराम घिमिरे, मेचीनगर–६ का वडा अध्यक्ष ललितबहादुर तामाङ, वडा सदस्यहरू ध्रुव राई, अन्जु थापा र सिमा रसाइलीको विशिष्ट आतिथ्य रहेको थियो । शिविरमा सहभागीहरू मध्येबाट उद्यमशील महिला केन्द्रीय सदस्य राधिका कार्की, पूर्व जनप्रतिनिधि इन्द्र खरेल र ज्येष्ठ नागरिक नरेन्द्र सिटौलालाई सम्मान गरिएको थियो ।
प्रमुख अतिथि प्रदेश सांसद गोपाल तामाङले योग–ध्यान शिविरको आयोजना गरेर अत्यन्तै सराहनीय काम भएको र योग–ध्यान अभ्यासको निरन्तरताको लागि हुने प्रयासहरूमा आफ्नो तर्फबाट भरपुर सहयोग रहने बताए । जीवन विज्ञान योग प्रशिक्षकहरू टिपी बराल र हरि दाहालले योगको सहजीकरण गरेका थिए ।

कोशी प्रदेशका विभिन्न प्रशिक्षकहरूद्वारा हरेक दिन फरक–फरक योग ध्यान विधिहरूको प्रयोग गरी साधना गराइने सप्ताहव्यापी शिविरमा प्रत्येक दिन बिहान सबै उमेर समूहका स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहँदै आएको थियो । शिविरको अन्तिम दिन मानिस कसरी खुसी रहने भन्ने जानकारीमूलक विशेष सत्र खुसी विज्ञान कार्यक्रमबाट पनि सहभागीहरू लाभान्वित भएका थिए ।

समूहका अध्यक्ष डम्बरु वल्लभ कट्टेलको सभापतित्वमा भएको समापन कार्यक्रमको सञ्चालन सचिव महेन्द्र कुँवरले गरेका थिए भने समूहका सह–सचिव देवकुमारी बस्नेतले स्वागत गरेकी थिइन् ।
कार्यक्रमका सभापति तथा समूह अध्यक्ष कट्टेलले सहभागी र सहयोगी हातहरूलाई धन्यवाद ज्ञापन गर्दै आदर्श बयालिस समूहले मेचीनगर नगरपालिकाका सबै वडाहरूमा यस्तै शिविरहरू सञ्चालन गर्ने लक्ष्य राखेकोले स्थानीय निकाय तथा प्रदेश सरकारबाट सहयोग र समर्थनको अपेक्षा राखिएको कुरा बताए ।

प्रतिकृया दिनुहोस्