News Portal

परराष्ट्रमन्त्री श्रेष्ठ चीन प्रस्थान

रातोपोस्ट संवाददाता
५१ पटक

काठमाडौं, १२ चैत । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा गएका छन्। चिनियाँ विदेश मन्त्री वाङ यीको निमन्त्रणमा आइबार बेलुकी परराष्ट्रमन्त्री श्रेष्ठ चीन गएका हुन्। परराष्ट्रमन्त्री श्रेष्ठले मंगलबार बेइजिङमा त्यहाँका विदेशमन्त्री यीलाई भेटदैछन् भने सोही दिन द्विपक्षीय बैठक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आएका बेलामा प्रतिबद्धता जनाएका आयोजना र सहयोगहरुमा हस्ताक्षर हुने स्रोतले बताएको छ। उनी चीनको छ्याङ्दु र ल्हासासमेत जाने बताइएको छ। परराष्ट्रमन्त्री श्रेष्ठ चैत्र १९ गते स्वदेश फर्कने छन्।

सत्ता समीकरण फेरिएपछि श्रेष्ठ परराष्ट्र मन्त्री बनेका हुन्। चिनियाँ अधिकारीहरुले बीआरआई परियोजना अघि बढाउने विषयमा परराष्ट्रमन्त्री श्रेष्ठसँग गम्भीर छलफल गर्ने तयारी गरेको स्रोतले बताएको छ। यद्यपी, अर्थ मन्त्रालयले भने ऋणमा बीआरआई परियोजना अघि बढाउनेबारे तयारी नगरेको स्रोतले बताएको छ। बीआरआई परियोजना ऋण हो कि अनुदान भन्ने स्पष्ट नहुँदा कार्यान्वयनमा कठिनाइ भइरहेको छ। श्रेष्ठले बीआरआईका परियोजनाहरु अनुदानमा बनाइदिन समकक्षी यीसँग छलफल गर्ने तयारी गरेका छन्।

चिनियाँ विदेशमन्त्री यी को नेपाल भ्रमणका बेला लत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ऋण लिएर बिआरआई परियोजना अघि बढाउन नसकिने स्पष्ट जवाफ दिएका थिए। त्यसपछि बीआरआई अन्तरगतका परियोजनाको कार्यान्वयनका लागि कुनै मोडालिटी बनेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देशसमेत लिएर बेइजिङ जान लागेका परराष्ट्र मन्त्री श्रेष्ठले बीआरआईका केही परियोजनाहरु अनुदानमा ढाल्न प्रस्ताव गर्ने तयारी रहेको स्रोतले बताएको छ। प्रधानमन्त्री दाहालले भूराजनीतिक जोखिमका कारण बीआरआई परियोजना अघि बढन नसकेको सन्देश पटक-पटक बेइजिङ पठाइसकेका छन्। स्वयम् प्रधानमन्त्री दाहालले समेत पछिल्लो पटक चीन भ्रमणमा गएका बेला चिनियाँ राष्ट्रपति सि जिनफिङसँगको भेटमा सोही कुरा भनेका थिए। चीनले बीआरआईको कार्यन्वयनलाई प्रतिष्ठाको विषय बनाएको छ।

चिनियाँ अधिकारीहरुले बिआरआई कार्यान्वयनका लागि दवाव दिँदै आए पनि प्रधानमन्त्री पुष्पकमल दाहालले अघिल्लो गठबन्धनमा कांग्रेसका कारण सो परियोजना अघि बढाउन नसकिएको जवाफ दिँदै आएका थिए। एमाले र माओवादी केन्द्र मिल्दैमा बीआरआइ लगायतका चिनियाँ परियोजनाहरु कार्यान्वयन हुन्छ भन्नेमा विश्लेषकहरु भने ढुक्क देखिंदैनन्।

एमालेसँगको गठबन्धन पछि केही उत्साहित देखिएको चीन बीआरआई लगायत आफ्ना परियोजनाहरु कार्यान्वयन हुनेमा भने उत्तिकै सशंकित छन्।

प्रतिकृया दिनुहोस्