News Portal

पूर्व–पश्चिम राजमार्ग विस्तारमा चार हजार सात सय रुखमध्ये आधा कटान

रातोपोस्ट संवाददाता
३५ पटक

झापा, १५ चैत । पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने योजनाअनुसार सडकखण्डमा पर्ने रूख हटाउने कामले तीव्रता पाएको छ । राजमार्गअन्तर्गत काँकडभिट्टादेखि लौकहीसम्मको खण्डमध्ये इटहरीसम्म ९५.७६ किलोमिटर सडकलाई चौडा गर्दै चार लेन बनाउन काँकडभिट्टादेखि इटहरीसम्म ठेक्कासमेत लागिसकेको छ । ठेक्का लागेको स्थानको सडकमा पर्ने रूख हटाउने काम भइरहेको हो ।

काँकडभिट्टा–लौकही सडकमध्ये पूर्वी खण्ड काँकडभिट्टादेखि केर्खासम्म र अर्को खण्ड केर्खादेखि लौकहीसम्म छ । जसमध्ये पूर्वी खण्डको काँकडभिट्टा–केर्खासम्मको ४५ किलोमिटर सडकमा पर्ने रूखमध्ये झन्डै ५० प्रतिशत रूख हटाइएको सुनीलबाबु पन्तले जानकारी दिए । उनका अनुसार काँकडभिट्टादेखि केर्खासम्मको ४५ किलोमिटरमा चार हजार सात सय ३० वटा रूख छन्, जसमध्ये करिब ५० प्रतिशत रूख कटान भइसकेको उनले बताए । ‘अहिले तीव्र रूपमा रूख कटानको काम भइरहेको छ,’ उनले भने, ‘प्रत्येक दिन सयभन्दा बढी रूख काट्ने योजना छ । साइड क्लियर भएपछि निर्माणको काम अघि बढ्छ ।’

यस्तै, झापाको कमल गाउँपालिकास्थित केर्खाबाट पश्चिम इटहरीसम्म पनि सडक ठेक्का लागेर सडकमा भएका रूख हटाउने क्रम जारी छ । केर्खादेखि इटहरीसम्मको ५०.७६ किलोमिटरमा ६ हजार ५०८ वटा रूख हटाउनुपर्ने काँकडभिट्टा–लौकही सडक योजना पश्चिम खण्डका योजना प्रमुख जगत पञ्जापतिले जानकारी दिए । जसमध्ये बुधबारसम्म ५९४ वटा रूख काटिएको उनले बताए ।

बंगलादेशको ढाका हुँदै नेपालको पूर्वी नाका काँकडभिट्टामा जोडिने एसियन राजमार्गसँग जोडिएको नेपालको पूर्व–पश्चिम राजमार्गलाई चार लेन बनाउने काम तीन वर्षभित्र सक्ने सडक विभागको योजना छ । सडकलाई स्तरोन्नति गर्दै चार वर्षभित्र काम सक्न ठेक्का लगाएको काँकडभिट्टा–लौकही सडक योजनाले जनाएको छ । जसअन्तर्गत काँकडभिट्टादेखि केर्खासम्मको ४५ किलोमिटर सडक दश अर्ब ६ करोडमा एभरासकोन–कालिका जेभीले ठेक्का लिएको छ । उसले सडकमा पर्ने साना खोलामा पुलसमेत निर्माण गर्नेछ । यस्तै, पूर्वी खण्डमा पर्ने कन्काई, निन्दा र बिरिङ नदीको पुल निर्माणका लागि कोभेक–सिआरइजिसी–टुन्डी जेभीले पाँच अर्ब ९७ करोडमा ठेक्का लिएको छ ।

यस्तै, केर्खादेखि पश्चिम मोरङको गोठगाउँसम्मको ४० किलोमिटर सडक सिआरएफजी–टुन्डी जेभीले नौ अर्ब १३ करोडमा ठेक्का लिएको छ । गोठगाउँदेखि इटहरीसम्मको १०.७६ किलोमिटर कोभेक–सिआरइजिसी–टुन्डी जेभीले चार अर्ब सात करोडमा निर्माणका लागि ठेक्का लिएको छ । यस्तै, पश्चिम खण्डमा पर्ने ठूला नदी रतुवा, बक्राह र लोहेन्द्र पुल निर्माणका लागि कोभेक–सिआरइजिसी–टुन्डी जेभीले पाँच अर्ब ६५ करोडमा ठेक्का लिएको काँकडभिट्टा–लौकही सडक योजना कार्यालयले जनाएको छ । यी सबै ठेक्का १९ अक्टोबर ०२३ मा लागेको छ । सबै ठेक्काको काम तीन वर्षपभित्र सक्नुपर्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्