News Portal

खानेपानी संस्थाहरुको कहानी, पानीमै छ कि ‘बेइमानी’ !

नवराज सुवेदी
६७ पटक

झापा, १७ चैत । खानेपानी संस्थाको साधारण सभा । हलभरी छन् उपभोक्ताहरु । मञ्च प्रमुख अतिथिदेखि अन्य अतिथिको आतिथ्यताले भरीभराउ छ । प्रत्येक अतिथिले बोल्दै गर्दा गर्छन् शुद्ध खानेपानीको चर्चा र सुनाउँछन् खानेपानी संस्थालाई अझ विस्तारित र दिगो कसरी बनाउने ? भन्ने योजना । हलभरीका उपभोक्ताहरु योजना सुनेर ताली पनि बजाउँछन् । तर, अचम्म उनीहरुको हातमा ‘मिनरल वाटर’को बोतल हुन्छ । अर्थात खानेपानी संस्थाको साधारण सभामा आएका उपभोक्ताहरु आफ्नो संस्थाको होइन । अरु नै कुनै निजी कम्पनीद्वारा उत्पादित बोतलको पानी पिएर आफ्नो संस्था दिगो बनाउने योजनामा तल्लिन देखिन्छन् । यो कुनै पुरानो वा अन्य कुनै ठाउँको खानेपानी संस्थाको साधारण सभामा देखिएको दृष्य होइन ।

गत, फागुन २८ गते मेचीनगर स्थित धुलाबारी खानेपानी समितिको साधारण सभामा देखिएको दृष्य हो । अर्थात, धुलाबारी खानेपानी समितिको साधारण सभामा आफैले उत्पादन गरेको शुद्ध पानी होइन ‘तृष्णा’ लेखिएको बोतलको पानीको प्रयोग भएको थियो । के धुलाबारी खानेपानीद्वारा उत्पादित शुद्ध पानी प्रति स्वयम संस्था नै बिश्वस्त छैन ? या अन्य कुनै कारण संस्थाले उत्पादन गरेको खानेपानी नभएर बोतलको पानी प्रयोग गर्नुपर्यो ? खानेपानी समितिका अध्यक्ष धनकाजी खत्री उक्त बोतल मात्रै अर्काको भएको तर, बोतलमा रहेको पानी भने समितिले नै प्रशोधन गरेको शुद्ध पानी भएको दाबी गर्छन् । ‘त्यो हामीले नै उत्पादन गरेको शुद्ध पानी हो, बोतल चाहिँ हामीसँग थिएन अनि अर्काको प्रयोग गरेको हो,’ उनको दाबी छ, ‘यस अघि नै निजी कम्पनीको बोतलको पानी प्रयोग गर्दा चर्को आवाज उठेको थियो । त्यहि भएर यसपाली हामीले हाम्रै पानी प्रयोग गरेका हौँ ।’

तर, साधारण सभामा वितरण गरिएको अधिकांश बोतलको स्टीकर निकालिएको थिएन । अधिकांश बोतल ‘सिलप्याक’ नै थियो । यो आवाज साधारण सभा कै दिन पनि नउठेको होइन । तर, कार्यक्रमको भिडभाडले आवाज ओझेलमा पर्यो । यो धुलाबारी खानेपानी समितिसँग मात्रै जोडिएको विषय पनि होइन । मेचीनगरमा विभिन्न खानेपानी संस्थाहरु सञ्चालित छन् । कतिपय संस्थाको त आफ्नै सभाहल नै छ । जुन विभिन्न समयमा विभिन्न कार्यक्रमका लागि भाडामा प्रयोग हुन्छन् । काँकरभिट्टामा रहेको काँकरभिट्टा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आफ्नै सभाहल छ । जुन प्रायः खाली हुँदैन । विवाह, संघसंस्थाका साधारण सभा तथा अन्य कार्यक्रमहरु, वैठक, गोष्ठी लगायत विभिन्न कार्यक्रम काँकरभिट्टामा आयोजित हुँदैछ भने प्रायः यही खानेपानी संस्थाको सभाहलमा आयोजना हुन्छ ।

खानेपानी संस्थाको परिसर भित्रै रहेको यस सभाहलमा आयोजना हुने कार्यक्रममा पानी भने बोतलको प्रयोग हुने गरेको छ । सभाहल अगाडी बडेमानको खानेपानीको ट्यांकी छ, ठाउँठाउँमा धाराहरु छन् । तर, पानी भने बोतलको प्रयोग हुन्छ । खानेपानी संस्थाले समन्वय गरेर यहाँ आयोजना हुने कार्यक्रममा संस्थाले नै उत्पादन गरेको शुद्ध पानी प्रयोग गर्न किन सक्दैन ? ‘यसको सबैभन्दा ठुलो चुनौती खाली बोतल कहाँबाट ल्याउने भन्ने हो,’ काँकरभिट्टा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष राजकुमार पराजुली भन्छन् । उनका अनुसार खाली एक त खाली बोतल सहजै उपलब्ध हुँदैन भने जनशक्तीको व्यवस्थापन, सरकारी नियम ऐनको झन्झटीलो प्रक्रिया पनि चुनौतीका विषय हुन् । संस्थाले उत्पादन गरेको खानेपानी बोतलको पानीभन्दा धेरै शुद्ध हुने भएपनि विभिन्न प्रक्रियाका कारण आफ्नै सभाहलमा आयोजना हुने कार्यक्रममा पनि प्रयोग गर्न नसकिएको उनको तर्क छ ।

‘समय फेरियो यो पनि एउटा चुनौती हो, आजकल देखाउनकै लागि मात्रै भएपनि बोतलको पानी प्रयोग गर्ने चलन बढेको छ,’ उनी भन्छन्, ‘बोतलको पानी प्रयोग गर्दा ‘स्ट्याण्डर्ड’ भइन्छ भन्ने पनि मानसिकता छ । यस्ता विविध कारण छन् जसले हाम्रो पानी प्रयोग गर्न चुनौती छ ।‘ उनको भन्दा फरक छैन काँकरभिट्टा खानेपानीकै कार्यालय प्रमुख दिपक पोख्रेलको मत पनि । ‘बोतल कहाँबाट ल्याउने, यदि प्लान्ट नै राखेर खानेपानी उत्पादन गर्ने हो भने पनि संस्था दर्ता प्रक्रिया फरक हुन जान्छ । जलस्रोत ऐनमा दर्ता भएको संस्था व्यापारीक ऐनतिर पनि दर्ता गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘बोतलको पानी भन्दा हाम्रो उत्पादित पानी धेरै शुद्ध छ, तर पनि कुनै संस्थाले या व्यक्तीले सभाहल भाडामा लिएको हुन्छ । उनीहरुलाई हाम्रो खानेपानी अनिवार्य प्रयोग गनुपर्छ भनेर भन्न पनि त मिलेन ।’

तर, संस्थाको आफ्नै कार्यक्रममा भने संस्थाले नै उत्पादन-प्रशोधन गरेको शुद्ध पानी प्रयोग गर्ने गरिएको उनले बताए । कसरी ? ‘अरुबेला आयोजना गरिएको कार्यक्रममा आएका बोतल संकलन गर्छौँ । अनि सफा गरेर आफ्नै पानी भरेर आफ्नो कार्यक्रममा प्रयोग गर्छौँ । अन्य निजी कम्पनीको पानी प्रयोग गर्दैनौँ ।’ यसैगरी चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पनि कार्यालय परिसरभित्र आफ्नै सभाहल छ । उक्त सभाहल पनि बेलाबखत भाडामा लाग्ने गरेको छ ।

त्यहाँपनि संस्थाले आफ्नै पानी प्रयोग गर्न आयोजकहरुलाई आग्रह गर्ने गरेपनि बोतलकै पानी प्रयोग हुने गरेको पाइयो । ‘सभाहल अगाडी नै धारा राखिदिएका छौँ । कार्यक्रम आयोजकलाई संस्थाकै पानी प्रयोग गर्न आग्रह पनि गर्छौँ । तर, सहजताका कारण होला सायद ! बोतलकै पानी प्रयोग हुन्छ,’ खानेपानी संस्थाका लेखा प्रमुख श्रवणकुमार धमला भन्छन्, ‘संस्थाको आफ्नै कार्यक्रममा भने संस्थाद्वारा उत्पादित प्रशोधित पानी नै प्रयोग गर्ने गरेका छौँ ।’

खानेपानी संस्थाहरुले नै र खानेपानी संस्थाहरुको सभाहलभित्र नै निजी कम्पनीले बोतलको पानी ल्याइदिँदा संस्थाहरुले उत्पादन गरेको शुद्ध पिउने पानीप्रति र संस्थाहरुको नीति नियमप्रति स्वभाविक प्रश्नचिन्ह खडा हुन्छ । त्यसैले आफ्ना र परिसरभित्रका सभाहलहरुमा संस्थाले नै उत्पादन-प्रशोधन गरेको शुद्ध पानी प्रयोग गर्न सकिने नीतिनियम निर्माण गर्न सम्पुर्ण संस्थाहरु सक्रिय बन्न आवश्यक छ ।

प्रतिकृया दिनुहोस्