News Portal

सिड्नीको सपिङ मलमा आक्रमण, ६ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
५६ पटक

सिड्नी, २ बैशाख । अस्ट्रेलियाको सिड्नीस्थित एउटा व्यस्त सपिङ सेन्टरमा चक्कु बोकेका एक हमलाकारीले आक्रमण गर्दा नौ महिनाको शिशुसहित ६ जनाको मृत्यु भएको छ । धेरैजना घाइते छन् ।

अज्ञात हमलाकारीले धेरै मानिसमाथि छुरा प्रहार गरेको र एक महिला प्रहरीले गोली हानी उसको हत्या गरेको अस्ट्रेलियाली प्रहरीले जनाएको छ । ती महिलालाई राष्ट्रिय नायकका रूपमा प्रशंसा गरिएको छ । घटना विशाल वेस्टफिल्ड बन्डी जक्सन मल परिसरमा भएको थियो । उक्त मल शनिबार दिउँसो हजारौँ खरिदकर्ताको भीडले भरिएको थियो । न्यु साउथ वेल्सका प्रहरी आयुक्त क्यारेन वेबले पाँच महिला र एक पुरुषको मृत्यु भएको जानकारी दिए । उनका अनुसार, एक बालकको आपत्कालीन शल्यक्रिया भइरहेको थियो ।

प्रहरीले हमलाकारी ४० वर्षीय व्यक्ति रहेको जनाएको छ । यद्यपि, अहिलेसम्म उसको औपचारिक रूपमा पहिचान गर्न सकिएको छैन । हमला आतंकवादी कार्य थियो भन्ने विषयलाई वेबले अस्वीकार गरे । हमलाकारी एक्लैले यस्तो कार्य गरेको मान्न सकिने उनले बताए ।

“यदि, यो हामीले विश्वास गर्ने व्यक्ति हो भने यो आतंकवादी घटना होइन,” उनले भने । न्यु साउथ वेल्स एम्बुलेन्सका प्रवक्ताले आठ घाइतेलाई सिड्नीका विभिन्न अस्पतालमा पु¥याइएको जानकारी दिए । तीमध्ये एक बालकलाई सहरको बाल अस्पतालमा लगिएको थियो । प्रवक्ताले भने, “सबैलाई गम्भीर चोट लागेको छ ।”

सुरक्षा क्यामेराको फुटेजमा अस्ट्रेलियाली रग्बी लिगको जर्सी लगाएका एक व्यक्तिलाई चक्कु लिएर सपिङ सेन्टरको चारैतिर दौडिरहेको देखाइएको छ । रगतले लतपतिएका घाइतेहरू भुइँमा लडिरहेका थिए ।

प्रत्यक्षदर्शीले आतंकको दृश्य वर्णन गरेका छन् । उनीहरूका अनुसार, पसलेहरू सुरक्षाका निम्ति दौडिरहेका थिए भने प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित पार्ने प्रयास गरिरहेको थियो । केही मानिसले स्वयं र आफ्ना परिवारलाई डरलाग्दो अपरिचितबाट बचाउन पसलहरूमा शरण लिइरहेका थिए । रासस/एएफपी

प्रतिकृया दिनुहोस्