News Portal

सिक्किम विधानसभा चुनाव: गोलेको दलले ३२ मा जित्यो ३१ सीट

रातोपोस्ट संवाददाता
९९ पटक

काठमाडौं, २० जेठ । सिक्किमको राज्यस्तरीय चुनावमा सत्ताधारी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)को शानदार विजय भएको छ । भारतीय अखबार हिन्दूका अनुसार ३२ सीट भएको सिक्किमको विधानसभामा प्रेमसिंह तामाङ गोलेको दल एक्लैले ३१ सीट ल्याएको छ ।

सिक्किममात्रै होइन भारतभरका राज्यहरुमा सबैभन्दा लामो समय २५ वर्ष मुख्यमन्त्री भएका पवन चाम्लिङको दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)को पार्टीले भने एक सीटमात्रै जितेको छ । सन् २०१९ को चुनावमा १७ सीट ल्याएर सामान्य बहुमत ल्याएको गोलेको दल एसकेएमले यो चुनावमा भव्य जनमत पाएर सत्ता जोगाएको छ । पवन चाम्लिङको दल एक सीट भएको प्रतिपक्षीको रुपमा अहिलेसम्मकै सबैभन्दा सानो आकारमा आएको छ ।

सन् २०२३ नोभेम्बरमा चर्चित सिक्किमे फुटबल खेलाडी भाइचुङ भुटियाको हाम्रो सिक्किम पार्टी आफूमा विलय गराएका चाम्लिङले अनुमान गरेको भन्दा ज्यादै कमजोर प्रदर्शन गरेका छन् । गत अप्रिल १९ मा भएको चुनावको परिणाम आज सार्वजनिक भएको हो । शानदार विजयपछि गोलेले सबैलाई धन्यवाद दिएका छन् ।

दुवै सीटमा हारे चाम्लिङ

सिक्किमे चुनावको अझ रोचक पक्ष चैँ पवन चाम्लिङले आफू उठेका दुवै क्षेत्रबाट चुनाव हारेका छन् । उनले पोक्लोक काम्ब्राङ र नाम्चेबुङमा हारेका छन् । पोक्लोकमा उनले एसकेएमका भोजराज राईसँग ३,०६३ मतान्तरले हारेका छन् । चाम्लिङको मत ४,९७४ आउँदा राईको ८,०३७ मत आएको थियो ।

यस्तै चाम्लिङको नाम्चेबुङको चुनावमा उनले एसकेएमका राजु बस्नेतसँग २,२५६ मतले पराजित भएको भारतीय मिडिया आउटलेट बिजनेस स्ट्याण्डर्डले उल्लेख गरेको छ । चाम्लिङले ४,९३९ मत पाउँदा बस्नेत ७,१९५ मत ल्याएर विजय भएका थिए । सन् १९९४ बाट २०१९ सम्मलगायत मुख्यमन्त्री भएर सिक्किम सत्तामा आएका पवन चाम्लिङले यो चुनावलाई आफ्नो जीवनको अन्तिम चुनाव भनेर चित्रित गर्दै आएका थिए, तर यही चुनावमा उनको लज्जास्पद हार भएको छ ।

प्रतिकृया दिनुहोस्