News Portal

हामी जनताको अधिकार कुण्ठित हुन दिँदैनौं : सन्तोष आचार्य

रातोपोस्ट संवाददाता
१३८ पटक

झापा, २४ जेठ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको यहि जेठ २६ गते हुने निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीको तर्फबाट प्रगतीशिल समाजवादी प्यानल खडा गरी सन्तोष आचार्यको नेतृत्वमा चुनावी मैदानमा छ । अध्यक्षका उम्मेद्वार आर्चायसँग गरिएकाे चुनावी कुराकानी ।

तपाईले खानेपानी चुनावलाई कसरी लिनु भएको छ ?

खानेपानी सबैको साझा संस्था हो । यो संस्था संवेदनशील पनि छ । किनकी यसले मानिसको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ । संस्थाको नेतृत्वमा गएपछि मानिसका लागि अति आवश्यक पानी वितरणको कुरा छ । यो चानचुने कुरा होइन । म निक्कै संवेदनशील भएर अघि बढेको छु ।

खानेपानीका चुनौतिहरु के छन् ?

खानेपानीको धारा भुईमान्छेलाई सम्म पुर्याउनु अहिलेको चुनौति हो । पानी अनिवार्य सर्त हो, हाम्रै समाजमा यस्तो वर्ग छ, जसले खानेपानीको समेत मूल्य चुकाउन सकिरहेको छैन । आफु पनि भुईमान्छे भएकाले उहाँहरुको कथा, व्यथा बुझेको छु । त्यो समुदाय अझै खानेपानीको पहुँचमा पुग्न सकिरहेको छैन ।

त्यसैले हुनेसँग लिने र नहुनेलाई दिने हो भने यसको समाधान सम्भव छ । यो एउटा समाजवादी मोडल पनि हो । यसलाई कसरी मिलाउने भन्ने कुरा नेतृत्वलाई चुनौति छ ।

तपाईका एजेण्डा के छन् ?

तीनवटा काम गर्ने भनेको छु । पानीको उत्पादनमा बृद्धि, त्यसको गुणस्तरमा नियन्त्रण र सेवामा विस्तार । आन्तरिक प्रशासनसँग सम्बन्धित जनमुखी सेवा र आर्थिक पारदर्शीतासहितको सुशासनलाई ध्यान दिने छौं ।
तेस्रो कुरा उपभोक्ता शिक्षाको अभाव देखिन्छ । भोट के का लागि दिने, किन दिने जस्ता कुराहरु उठ्ने गरेका छन् । मतदातालाई शिक्षित गर्ने एउटा महत्वपूर्ण अभियान हामी सामु छ भने सदस्यहरुको स्वास्थ्य र सरसफाइलाई उत्तिकै प्राथमिकतामा राखेको छौं । हामीले घोषणापत्रमा समेत धेरै कुरा समेटेका छौं ।

प्रतिष्पर्धीलाई कसरी हेर्नु भएको छ ?

एक जना मेरो दाइ, अर्को साथि हुनु हुन्छ । रोहित दाइ मेरो प्रतिष्पर्धी नभएर शालिन हुनु हुन्छ भने र सुदर्शनजी सँगै पढेको साथि हो । उहाँहरुलाई सम्मान गर्छु ।

खानेपानी संस्थाहरु प्राधिकरणमा जाने कुरा के हो ?

सरकारी सेवा नेपालमा कहीँ कतै प्रभावकारी भएको हामीले सुनेका छैनौं र त्यो सम्भव पनि छैन । नगरपालिकाले खानेपानी संस्थाहरुलाई नियन्त्रण गर्न र आफ्नो मातहतमा ल्याउन खोज्छ भने त्यसबेला उचित निर्णय लिने छौँ ।
शुक्रबार पाइप फुट्यो भने आइतबारसम्म पर्खनु पर्ने हुन सक्छ । हामी जनताको अधिकार कुण्ठित हुन दिँदैनौं । खानेपानी संस्थालाई नगरको मातहतमा ल्याउने काम गलत हुन्छ । हामी त्यसो हुन दिदैनौँ ।

अन्त्यमा ?

यतिबेला उम्मेदवारहरु सबै घरदैलोमा व्यस्त छन् । स्वस्थ प्रतिष्पर्धा गर्नुपर्छ । सस्तो लोकप्रियताका लागि कुनै पनि कुरा गर्नु उचित हुँदैन । उम्मेदवाहरु संवेदनशील बन्नु पर्छ । उपभोक्ताको जीवनसँग जोडिएको विषय भएकाले अलिक जिम्मेवार व्यक्तिहरुलाई पठाउनु पर्छ । त्यो कुरा उपभोक्ताले मनन् गर्नु भएको होला ।

प्रतिकृया दिनुहोस्