झापा, २८ जेठ । काँकरभिट्टा खानेपानी तथा उपभोक्ता संस्थाको अध्यक्षमा नेपाली काँग्रेसका रोहितकुमार बुढाथोकी निर्वाचित भएका छन् । आज बिहान २ बजे सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार बुढाथोकीले १ हजार ९ सय ९१ मत प्राप्त गरी विजयी भएका छन् । अध्यक्षका अर्का प्रतिस्पर्धी नेकपा एमालेका सन्तोस आचार्यले १ हजार ८ सय ८ मत प्राप्त गरेका छन् । अचार्य भन्दा १ सय ८३ मत बढी ल्याएर बुढाथोकी निर्वाचित भएकाे निर्वाचन समितिका संयोजक राजु कार्कीले जानकारी दिए । अध्यक्षमा रास्वपाका उम्मेद्वार सुदर्शन खड्काले ३ सय ४६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्षमा एमालेका गाविन्द गिरीले २ हजार २ सय ६२ मत प्राप्त गरी विजयी भएका छन् । उपाध्यक्षका माओवादी केन्द्रका उम्मेद्वार राजकुमार दाहालले १ हजार २ सय १९ मत प्राप्त गरेका छन् भने रास्वपाका कृष्ण सुवेदीले ६ सय ३० मत गरेका छन् ।
सचिवमा नेपाली काँग्रेसका विशाल तामाङ विजयी भएका छन् । तामाङले १ हजार ७ सय ४५ मत प्राप्त गरेका छन् भने एमालेका जसपाका दिलिपजंग सुब्बाले १ हजार ६ सय ६३ मत प्राप्त गरेका छन् । त्यस्तै रास्वपाका नरेन्द्र शिवाकोटीले ५ सय ९८ मत ल्याएका छन् ।
कोषाध्यक्षमा एमालेकी बिमला तामाङ विजयी भएकी छिन् । तामाङले २ हजार ६५ मत ल्याएर विजयी हुँदा नेकपा एकिकृत समाजवादीकी विमला देवकोटाले १ हजार ४ सय ६३ मत गरेकी छिन् भने रास्वपाका सुधादेवी खड्काले ३ सय ९८ मत प्राप्त ल्याएकी छिन् । त्यसैगरी खानेपानी संस्थाको कार्यसमिति सदस्यहरुमा महिला तर्फ एमालेकी इन्दीरा बुढाथोकी र जसपाकी मिरा कार्की विजयी भएकी छिन् । बुढाथोकीले १ हजार ६ सय ६४ र कार्कीले १ हजार ५ सय ४६ मत प्राप्त गरेकी छिन् । त्यस्तै इकाई सदस्यतर्फ वडा नं. २, ३ र ४ बाट राप्रपाका इन्द्र प्रधानले १ हजार ८ सय ८६ मत प्राप्त गरी विजयी भएका हुन । उनका प्रतिस्पर्धी एमालेका तीर्थराज नेपालले १५९० मत प्राप्त गरे ।
त्यस्तै इकाई सदस्य वडा नं. ५ र ८ बाट काँग्रेसका केदारजंग भट्टराई १ हजार ४ सय ६० मत प्राप्त गरी विजयी भए भने सोही पदमा एमालेका पर्शुराम निरौलाले १३५९ र रास्वपाका राजकुमार गिरीले ९८८ मत प्राप्त गरेका थिए । इकाई सदस्य वडा नं. ६ र ७ बाट एमालेका डिल्लीकमार काफ्ले १ हजार ५ सय ८१ मत ल्याएर विजयी भएका छन् भने पूर्णबहादुर लिम्बुले १४१६ र दिपेश तिवारीले ८५५ मत ल्याएका थिए ।
त्यसैगरी लेखा समिति संयोजकमा एमालेका सोमराज ढकालले १ हजार ५ सय ८ मत प्राप्त गरी विजयी भएका छन् भने राप्रपाका किशोर शर्मा भण्डारीले १४३४ र रास्वपाका भेषराज ओलीले ८११ मत प्राप्त गरे । लेखा समिति सदस्यमा बालकुमार भुजेल र जोस्ना राजवंशी विजयी भएका छन् । भुजेलले १६६० र राजबंशीले १७९९ मत प्राप्त गरे भने लेखा समिति सदस्यका अन्य उम्मेद्वारहरु विकास राउतले १२४८, प्रज्वल गौतमले ७५६ र रिता घिमिरेले १७२९ मत ल्याएका थिए ।
काँकरभिट्टा खानेपानीको निर्वाचनका लागि काँग्रेस, माओवादी, राप्रपा, नेपका एस र संघीय लोकतान्त्रीक मञ्चले लोकतान्त्रिक प्यानल बनाएर उम्मेद्वार उठाएका थिए भने एमाले र जसपाले प्रगतिशील समाजवादी साझा प्यानल र राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा स्वतन्त्र गरी तीनवटा प्यानल प्रतिस्पर्धामा रहेका थिए । जम्मा १२ वटा पदमध्ये लोकतान्त्रिक प्यानलले अध्यक्ष र सचिवसहित चार वटा पद जितेको छ भने प्रगतिशील प्यानलले उपाध्यक्ष र कोषाध्यक्षसहित आठ वटा पद जितेको छ ।