News Portal

मेचीनगर स्तरीय वक्तृत्वमा धुलाबारी माविकी दिव्या राय प्रथम

रातोपोस्ट संवाददाता
५५ पटक

झापा, १३ असार । झापाको मेचीनगरस्तरीय वतृत्वकलामा धुलाबारी माविकी दिव्या राय प्रथम भएकी छिन् । दलित समन्वय समिति मेचीनगरको आयोजनामा आज भएका वतृत्वकलाको फाइनलमा धुलाबारी माविकी दिव्या राय प्रथम भएकी हुन् । ओसेनिक निर्माण अंग्रेजी माविका रिदम दुलाल दोस्रो र सरस्वती बाल कल्याण माविकी प्रोशिमा घिमिर तेस्रो भएकी छिन् ।

विजेता हुने पहिलो, दोस्रो र तेस्रोले क्रमशः १० हजार १२५ रुपैयाँ, ७ हजार १२५ रुपैयाँ र ५ हजार २५० रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे । आज बिहीबार मेचीनगर–८ स्थित आदर्श माविमा भएको फाइनलमा तिन चरणको छनौटबाट उत्कृष्ट छनौट भएका १२ जना प्रतिस्पधी सहभागी थिए ।

दलित समन्वय समिति मेचीनगरको आयोजनामा भएको प्रतियोगिताको छनौट चरणमा नगरका संस्थागत तथा सामुदायिक गरी ३४ विद्यालयका ६३ विद्यार्थी सहभागी रहेका थिए । निर्णायक भुमिकामा प्राध्यापक प्रेमसागर घिमिरे, पूर्व शिक्षक राजकुमार विश्वकर्मा र सञ्चारकर्मी शुष्मा राजवंशी रहेका थिए ।

मेचीनगरका नगर प्रमुख गोपाल बुढाथोकीको आतिथ्यतामा भएको कार्यक्रममा मेचीनगर शिक्षा शाखा प्रमुख होमराज भण्डारी, मेचीनगर वडा नं. ८का वडाध्यक्ष गिरीराज धमला, आदर्श माविका प्रधानाध्यापक कृष्ण पुरीलगायतले शुभकामना मन्तब्य राखेका थिए । संस्थाकी अध्यक्ष रिता परियारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मी परियारले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन शिक्षक जीआर धितालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्