News Portal

डाक्टर र नर्सका बिदाइ गर्दै वुहान फेरि रोयो (हेर्नुस् भिडियोसहित)

रातोपोस्ट संवाददाता
११७४ पटक

काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान यसअघि डिसेम्बरबाट रुन सुरु गरेको थियो । मार्चको पहिलो हप्तामा आइपुग्दा वुहानले खुशीको आँशु झार्न सुरु गरेको थियो । यहि वुहानले गएको १७ मार्चमा भने विदाइका नमिठा आँशु धेरै झा¥यो ।

एकाएक पसेको दुश्मनले वुहानमा चिल्लीबिल्ली बनायो । धेरै घरवास उडायो । यति ठूलो आतंक मच्यायो की मानिसहरु फेरि बाँच्न पाउँछौ भन्ने अवस्थामा थिएनन् । चीनभरीबाट तालिम दिइएका ४० हजार डाक्टर र नर्सका फौज वुहान प्रवेश गरे ।

उनीहरुले मेरो बिमा कति पैसाको भनेर सोधेनन् ?, थप सुविधा देउ भनेर बार्गेनिङ्ग गरेनन् । आफ्नो देशको राष्ट्रियताको रक्षाका लागि भने तम्तयार र अग्रपंक्तिमा भिड्न तम्तयार सीपाही जस्तै मानवताको रक्षार्थ सबैभन्दा अगाडी बसेर उनीहरु कोरोनासँग लडाईं लडे । यसबीचमा उनीहरुका अगाडि आफ्नै कमाण्डर पनि ढलेका थिए र कोरोनाले उनीहरुलाई पनि निकै चिथोरेको थियो ।

ती ४० हजार महान योद्धाहरु मध्ये ३ हजार ७ सय को पछिल्लो डम्फा मार्च १७ मा वुहानबाट बाहिरियो । उनीहरु आ–आफ्नो पोष्टबाट बिदाइ हुँदा वुहानबासीहरु फेरि रोएका थिए ।

दिनको १० घण्टा देखि १६ घण्टासम्म काम गरेर अधिकांशले ४३ दिनसम्म युद्ध मोर्चामा भाग लिएका थिए । दैनिक १ हजार बढीलाई आक्रमण गर्दै अघि बढेको कोरोनाले ४० हजार फौजको सामाना गर्न सकेन । उ आफै थला प¥यो ।

जब पहिलो डफ्फा वुहानबाट बाहिर जाँदै थियो । सबैको आँखामा आँशुका भेल थियो । दुश्मनसँगको मनोविज्ञानमा अतालिएका वुहानवासी आफ्नो मुख्य आधार र अभिभावक बाहिर जान थालेको अनुभूतिका साथ रोएका थिए । आँशु खसाल्दै ‘योद्धा, तिमीहरुलाई सलाम छ’, जताततै लेखिएको थियो । पोष्टदेखि बससम्म, बसदेखि एयरपोर्टको इन्ट्रीसम्म र अन्तिमको वोडिङ पाससम्म एसकटिङ्ग र सलामी दिइएको थियो ।

हजारौँ किलोमिटर टाढाबाट आएर दुश्मनलाई निस्तेज गराइदिएका सिपाहीहरुलाई ‘वुहानमा फेरि स्वागत छ, सपनामा त भेटिएला नी तिमीहरुलाई’, जस्ता भावनात्मक सम्प्रेषण गरिएको थियो ।

दुश्मनलाई हराएर करोडौँको रक्षा गरेको र मृत्युलाई जितेकाहरुसँग छुट्न वुहानवासीलाई कसरी सहज हुन्थ्यो र तर के गर्नु भावविह्ल बनाउँदै सिपाहीहरुलाई बिदाइ गर्नुको विकल्प थिएन ।

उनीहरुलाई सरकारले सलामी दिएको थियो भने नागरिकले सडकमा आएर उनीहरुको स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस्