News Portal

झापाका स्थानीय तह, शैक्षिक संस्था र वित्तीय संस्थालाई कारबाही गर्ने विप्लव नेकपाकाे चेतावनी

रातोपोस्ट संवाददाता
८५७ पटक

झापा , असोज ४।  नेत्र विक्रम चन्द ( विप्लव ) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले  झापाका स्थानीय तहहरुले कोराेना महामारीको कारण देखाउँदै करोडौं रकम हिनामिना गरेकाे भन्दै तीन दिन भित्र खर्च विवरण सार्वजनिक गर्न माग गरेको छ।

उक्त पार्टीका जिल्ला सेक्रेटरी श्रीजंगले आज एक विज्ञप्ति जारी गर्दै तीन दिनभित्र काेराेना उपचार तथा व्यवस्थापनमा भएको खर्च विवरण सबै स्थानीय तह मार्फत सार्वजनिक गर्न माग गरेका छन्।

त्यस्तै झापाका विभिन्न स्थानिय तहका निजि तथा सामुदायिक शिक्षण संस्थाहरुले तत्काल शुल्क तिर्न भनेर अबिभावकहरुलाइ ताकेता गरिरहेको जानकारी प्राप्त भएको भन्दै उक्त कार्य तुरुन्तै बन्द गर्न समेत उनले विज्ञप्तिमार्फत चेतावनी दिएका छन्। आइतबार साँझ जारी गरिएको विज्ञप्ति अनुसार बैंक तथा लघुवित्तहरुले मध्यमबर्गिय गुजारामुखी व्यवसायीहरुलाई किस्ता र व्याजकाे ताकेता गरेर चर्को समस्या पैदा गरिएको हुनाले उक्त काम तुरुन्तै बन्द गर्न समेत आग्रह गर्दै अटेर गरे पार्टिको नेतृत्वमा जनताले कडा जनकारबाही गर्ने चेतावनी समेत दिइएको छ।

विज्ञप्तिमा भनिएको छ,- “यतिबेला कथित कम्युनिस्ट पार्टिको माफिया सरकार रास्ट्र र जनताको जिवनलाइ संकटको आगोमा हालेर छटपटाहट थोपरिरहेको छ । घर घरमा सरकारको प्रत्याभुती गराउंछौ भन्नेहरुको लुटखसोट र बैमानीले प्रताडित जनता वाक्क दिक्क छन ।

सरकारि लुटेरा समुहको लुटले जनता प्रताडित भइरहंदा यता झापामा पनि लुटखसोटले जनता पिल्सिन पुगेका छन । अत: हामी झापाका जनप्रतिनिधिहरु र अन्य निकायहरुका लुटेराहरुले गरिरहेको भ्रस्टाचार र बेथितीको बिषयहरुमा निम्नानुसारका गम्भिरता पुर्वक भन्न चाहान्छौं” ।

१. कोरोना(कोभीड-१९) को उपचार र ब्यवस्थापनको नाममा झापाका स्थानिय तहहरुले करडौं खर्च गरेका छन , जसको कुनै हिसाबकिताब छैन र ब्यबहारत कोरोना ब्यवस्थापनको बिषय भ्रस्टाचार गर्ने माध्यम बन्न पुगेको छ । कोरोना उपचार तथा ब्यवस्थापनमा भएको खर्चको हिसावकिताब सबै स्थानिय तह मार्फत तीन दिन भित्रमा सार्वजानिक गरियोस ।

२. झापाका विभिन्न स्थानिय तहका निजि तथा सामुदायिक शिक्षण संस्थाहरुले तत्काल शुल्क तिर्न भनेर अबिभावकहरुलाइ ताकेता गरिरहेको जानकारी प्राप्त भएको छ, यो कदम तुरुन्त बन्द गरियोस । साथै निजि शिक्षण संस्थाहरुलाइ सरकारी लुटेरा जनप्रतिनिधिहरुले साथ दिएर जनताको ढाड सेक्ने काम गर्न खोजिरहेका छन, यो तुरुन्त बन्द गरियोस ।

३. बैंक तथा लघुवित्तहरुले मध्यमबर्गिय गुजारामुखी व्यवसायीहरुलाई किस्ता र व्याजकाे ताकेता गरेर चर्को समस्या पैदा गरिएको हुनाले उक्त काम तुरुन्तै बन्द गरियोस् ।

अत: माथी उल्लेखित बिषयहरुमा झापाका सम्पुर्ण स्थानिय निकाय र सम्बन्धित निकायहरुलाइ गम्भीर बन्न , हाम्रो पार्टिले निर्देश गरेबमोजिम तुरुन्त हिसाब सार्वजानिक गर्न र जनतालाइ दुख नदिन जानकारी गराउन चाहान्छौं ।

अन्यथा हाम्रो पार्टिको नेतृत्वमा जनताले कडा जनकारबाही गर्ने ब्यहोरा यसै बिज्ञप्ति मार्फत सरोकारवाला सबैमा जानकारी गरांउदछौं ।

प्रतिकृया दिनुहोस्