News Portal

हत्केलाले छोप्न खोजिएको सुर्य समान हिन्दुत्व

साध्वी पद्माश्री किङ्करी
८२८ पटक

हामी सनातनी सन्तान भएकोमा हामी सबैमा सनातन ज्ञानको मूल छ, जुन अब फुट्न मात्र बाँकी छ। कति त फुटि सकेको पनि छ, मात्र धारमा बग्न सकेको छैन। कहिलेकाहीँ अन्यौलमा छौँ जस्तो पनि लाग्छ। तर हाम्रो संस्कार , गहन ज्ञानले संयुक्त भएर , बिज्ञान सम्मत पनि छ भन्ने वैज्ञानिक रुपले समेत प्रमाणित हुँदै गएको छ। जुन हामी सनातनी हरुको निमित्त गौरवको विषय पनि हो। यसको श्रेय अहिलेको आधुनिक विज्ञान र प्रबिधिलाई पनि जान्छ, किनकी हाम्रो सनातनी हिन्दु मूल्य मान्यता प्रबिधिको विकास सँगै अझ व्यापक हुँदै गएको आभाष सायद सबैलाई भएकै छ।

यस अघि हाम्रा ज्ञान संकुचित थिए। सर्बसाधारण हामी अनभिज्ञ थियौँ। सनातनी संस्कार हामीमा थियो।तर मूल ज्ञान भने थिएन। यसरी मुख्य सनातन ज्ञान किन र कुन अभिप्रायले प्रचार प्रसार हुन सकेन ? त्यसको अंग्रेज साम्राज्य कालिन शासन सत्ता वा व्यक्तिगत प्रतिस्ठाकाे स्वार्थ या कुनै धार्मिक राजनितिक कारण हुन सक्ला तत्कालिन परिप्रेक्ष्यमा , उदेश्य र अभिप्राय हिन्दु सनातन धर्मलाई केवल कर्म काण्ड र भजन किर्तन कै अन्यौलमा भुलाएर अंग्रेज साम्राज्य सँगै पश्चिमा बाइबलिक साम्राज्य स्थापित गर्ने मनसायले होकि भन्ने शंका व्यक्त गर्न लाई ठाउँ प्रसस्त छ। नत्र यो बिशाल , यो महान धर्म, हिन्दु सनातनी बेद शास्त्र हरु अहिलेका बिज्ञानका आधार हुन। अहिले पनि विज्ञान धेरै बच्चा नै छ। वेद सम्पुर्ण छ, सनातनी छ, उत्पत्ति देखिनैछ। अपरिवर्तित , अखण्ड र अक्षुण्ण छ। यो अपरिमार्जित छ।

जल र ज्ञान यी दुबै सरल र तरल हुन्छ। उच्च तहबाट उत्पन्न हुन्छन अनि ओरालो बगेर समतलमा फैलिन्छन ..। विशाल भएर फैलिन्छन र महासागर बन्ने गर्छन। ज्ञान पनि उच्च चेतना बाट उत्पन्न हुन्छ अनि जन जन को मन मन मा फैलिन पुग्छ। त्यसैले त ज्ञानले पुर्ण व्यक्ती जसमा ज्ञानको विशालता छ, सागर झैँ धैर्य शाली ! करुणा मयि, हुन पुग्छ। हाम्रो लागि अर्को गौरवको कुरा यो पनि हो कि, जति पनि सनातनी ज्ञानको पहिलो मूल यहि हाम्रो हिमालयको भूमी बाट फुट्याे र त्यस्को बिशालता यसको फैलावट भने भारतमा सम्म हुन पुग्यो, यो स्वभविक पनि हो।

किनकी तरल समतलमा नै हो फैलने, अनि उत्पत्ती हुने उच्चतामा नै हो । हिमालय मै हो, त्यसैले केवल नेपाल भुमी मात्र मुख्य रुपमा अति पबित्र र सनातन उद्गम भुमी हो। यो भुमी चेतनाको उत्पत्तिको मूल भूमी भएकै कारण यो भुमी मूल भुमी हो। तर यदि यहि मूल लाई नै थुन्ने समाप्त पार्ने कार्य हुँदै गए , यहाँ प्रलय हुनेछ, विनाश हुनेछ। सुन्दा हाँस्यस्पद लाग्न सक्छ। तर सत्य यही हो। यदि मस्तिष्क नै नरहे शरीर सग्लै स्वस्थ नै रहे पनि त्यो काम लाग्ने होला त ? हुन्न नि । हो त्यस्तै हो नेपाल सम्पुर्ण बिश्वको चेतनाको मूल मस्तिष्क हो, यदि यो विस्वकै एक मात्र सनातन भुमी पवित्र भुमी, देव भुमी नरहने हो भने यो विश्व नै एउटा लास जस्तो हुनेछ। देव भुमी रहेकै कारण सायद यो भुमी सनातनी बाहेकको आधिपत्यमा रहन परेन। सानो मुलुक भएर पनि नेपालले पूरा विश्वको साम्राज्य ब्रिटिसकाे साम्राज्य,जहाँ सुर्य अस्ताउदैन थियो , परस्त गरेकै थियो। सामना गरेकै थियो, समसुद्दिन लगयतका मुगल साम्राज्यले पुरै भारत खाएको बेला पनि नेपाल सुरक्षित नै रहयो। समसुद्दिनको आक्रमण यहाँ पनि नभएको हैन।

तर परास्त भएर आधिपत्य जमाउन सकेन। दक्षिणले त भौगोलिक विकटताको कारण सकेन भनेर मानौँला, तर उत्तरकाे चीन सङ पनि त नेपालले २ पटक ठुलै युद्द गरेकै हो। अझ विकट भौगोलिक युद्द अभ्यास भएका चिनियाँ समेत ले यहाँ हैकम जमाउन सफल भएनन। यसको मतलब हाम्रो विरता मात्रै थियो? युद्ध मा त्यस्तो जादुको छडी हुन्थ्यो र? हामी माथी आक्रमण गर्न आउने कायर थिए? हामी तिक्ष्ण दिमागका लडाकु थियौँ र? हैन केवल हाम्रो विरताले त्यो विश्व विजेताहरु रोकिएका थिएनन। यहाँ सनातन देखि नै दैविक आशिर्वाद थियो। गोरखनाथको प्रत्यक्ष आशिर्वाद थियो। मुक्तिनाथको आशीर्वाद थियो.. यो आफैमा सनातनी देव भुमी थियो। त्यसैले न पहिले यो कसैको अधिनमा रह्यो र अब कहिले रहने नै छ। कुनै दिन विज्ञान आफैले यो स्वीकार गर्नेछ कि नेपालको भुमिमा अन्तरिक्षको सदा प्रभाव रहिरहने छ ।

“Nepal is only one holy land of the Earth. ” नेपाल एक मात्र पृथ्विको पवित्र भूमी हो । यो बिश्व चेतनाको उद्गम बिन्दु हो। यो ज्ञानको मूल भुमी हो। यो बिश्वको शिर हो। यो मुक्तिनाथ , शालिग्राम को भूमी हो। हामिले पश्चिमा जस्तो भौतिक प्रगती गरेका छैनौँ। भौतिक प्रगती नै प्रगती होइन। हामी सँग ज्ञान छ भएका कुरामा प्रगती हुनु पर्छ। अब सधैं संस्कारमा अल्झेर हुँदैन। अब ज्ञानले प्रदिप्त हुनु पर्छ पहिले हामी आफैँ। आफू ज्ञानले बलेर सारा बिश्वलाई बाल्दै जानू पर्छ प्रकाशित गर्दै जानू पर्छ। जसरी हामी अहिले पश्चिमा या भनौ विकसित मुलुकका उत्पादन र विकास भोग्न लालयित रहन्छौँ। आजको दिनमा हामी जतिसक्दो ती भौतिक बिकसित उत्पादन भोग्न सक्छौँ त्यति नै समृद्ध भएको महसुस गर्छौ।

वास्तबमा यो हामी गलत गरिरहेका छौँ। बत्ती मुनिको अँध्यारो भन्ने उखान यहाँ चरितार्थ भैरहेको जस्तो मलाई लाग्छ। अब हामिले हाम्रो ज्ञानलाई उजागर गरि उत्पादन गर्नु छ। ताकी त्यो ज्ञान भोग्न हर कोहि लालायित रहुन । ज्ञानको उत्पादन के हो त ? शान्ति , आत्मिक सुख, आत्माको बोध, प्रश्न्नता , भाइचारा, सत्य आचरण , सभ्यता, बिनम्रता, करुणा, मानवता, अनि इस्वर को स्वरुप बोध, यो हो हामीले गर्न सक्ने, हामिले विश्व लाई दिन सक्ने उत्पादन । मात्र हामिले संकुचित रहेको ज्ञान सबैको लागि सहजीकरण गरि पहुँचमा राखिदिनासाथ , धार्मिक अतिक्रमण स्वतस्फूर्त हराउन जान्छ। यसरी अहिले संगठन बनाएर प्रतिकार गरिरहनु पर्ने अवस्था नै हुँदैन। अहिले हरेक कोण द्वारा प्रतिकारको निमित्त तत्पर लडिरहेका हामी रितिरिवाज , धर्म सस्कृती , मुल्यमान्यता बुझेका त छौँ। तर ज्ञान बाट भने विमुख नै छौँ। हामिलाई कृष्ण लिला राम्ररी थाह छ। तर कृष्ण कै उपदेश गिता दर्शन बाट कति अनविज्ञ छौँ।

प्रचारको नाममा जानाजान नकारात्मकता फैलाइरहेका छौँ, तर जीवन नै बदल्ने मुख्य ज्ञान बाट चाहीँ विमुख छौँ। यो विडम्बनाको कुरा हो। तर अब यस्तो उस्तो भनेर गुनासो गरेर समय व्यतित गर्नु भन्दा, कसरी हाम्रो मूल विद्या , मूल ज्ञान सबै सनातनी हरुको लागि सहज पहुँच मा हुने वा बनाउने ? अनि सनातन प्रती वैरभाव राखिरहेका अन्य विद्रोहिको तेज बध गर्न अझ तेजस्वी भएर कसरी प्रकाशित हुने भन्ने मुख्य योजना रहनु पर्छ। संस्कार कै नाममा , कृष्ण भजन मै एउटा असनातनी आएर नाचिदिँदैमा मख्ख परेर विजेता महसुस नगरी, अब हरेक सनातनी हिन्दुले घरका हरेक सदस्यमा गिताको ज्ञानले प्रकाशित गर्न जरुरी छ। बिस्तारै प्रतिस्पर्धात्मक ज्ञान बोध गर्ने कार्यक्रम सुरुवात गर्नु पर्छ। ताकी ज्ञान प्रती निखार हुँदै जाअाेस। पुजा पाठ भजन किर्तन त छँदैछन तर यसैमा अलमल नभै ज्ञान प्रचार प्रसारमा बढी जोड हुनु पर्छ अब भन्ने मलाई लाग्छ।

हाम्रो सनातन ज्ञान यति गहन यति विशाल छ कि यसको चर्चा गरेर कहिले सकिन्न। अझ कयौँ रहस्य खोतलिन बाँकि नै होला, अहिले जे जति छन ती त केही पनि होइनन् सायद । उहिलेका बोधी ऋषिमुनीहरुको श्रुति, हेर्नुस त जहाँ यस्तो गहन सत्य ज्ञान कसरी लुकेका छ्न , ती श्रुति शब्दका रुपमा यसै सुनिएका हैनन, एउटा नाद, अन्तरीक्ष बाट आउने ध्वनी तरङ्गलाई शब्दमा रुपान्तरण गरेर लेखिएका हुन वेद पुराण । पहिले सुन्दा बिस्वास लाग्दैन थ्यो। असम्भव लाग्थ्यो, अहिले हामिले सुन्ने रेडियो टेलिभिजन पनि ध्वनी र दृस्यलाई तरङ्गमा रूपान्तर गरेर फेरि त्यही तरङ्गलाई ध्वनी या दृश्य मा रुपान्तरण गरे जस्तै हैन त? त्यो बेला कति अध्यात्म विकास भएको रहेछ त अनुमान गरौँ। अब हामी यो पबित्र भुमीबाट यस्तै अध्यात्मिक प्रविधिको विकास गर्न खोज अनुसन्धान सुरु गर्न सक्छौँ। यी सब सम्भव छन। अन्तरिक्षका यस्ता असंख्य तरङ्ग हरु पत्ता लगाउनु छ, हाम्रा वेद पुराणमा भएका लेखिएका कुरा सबै सत्य, साँचो र सम्भव छ। बिना भौतिक प्रबिधी, अध्यात्मिक प्रविधीको विकास यो पवित्र सनातनी हिमाली भुमीबाट हुनेछ।

प्रतिकृया दिनुहोस्