News Portal

मेचीनगरमा जीवन बुझाउने कार्यक्रम

रातोपोस्ट संवाददाता
१८ पटक

मेचीनगर । सन्त निरंकारी मण्डल झापा शाखाले शनिबार मेचीनगरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । हरेक नागरिक अनुशासित, मर्यादित र सामाजिक भएर सभ्य समाजलाई डोहोर्याउनुपर्छ भन्ने उद्देश्यका साथ वास्तविक जीवन जिउन सिकाउने यस संस्थाले शनिबार मेचीनगर–७ स्थित सृजनशील टोल विकास संस्थामा रहेको भवनमा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रम अन्तर्गत संस्था मातहतमा रहेका सेवा दलहरुले पिटी देखाए भने विभिन्न स्थानबाट आएका बौद्धिक व्यक्तित्वहरुले सुमधुर प्रवचन दिए । बाल सेवा दल, महिला सेवा दलमा आबद्ध बालबालिकादेखि युवा उमेरका युवायुवतीहरुले सुन्दर पिटी प्रस्तुत गरे भने मोरङ, सुनसरी तथा झापाका विभिन्न क्षेत्रबाट आएका महात्मा गुरुहरुले प्रवचन दिए ।

कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती विशिष्ठ अतिथि रहेकी थिइन् । कार्यक्रममा बोल्दै कोशी प्रदेश सभा सदस्य तामाङले यस प्रकारका कार्यक्रमहरुले समाजलाई सभ्य, सामाजिक बनाउने बताए ।

कार्यक्रममा प्रदेश सांसद तामाङसँगै, मेचीनगर नगरपालिका उपप्रमुख उप्रेती, मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओली, नेपाली कांग्रेस क्षेत्रीय सभापति इन्द्र बुढाथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए । सन्त निरंकारी मण्डल नेपाल, झापा अध्यक्ष (मुखी) रोहिता भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन पूर्व केन्द्रीय सदस्य लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रतिकृया दिनुहोस्