झापा, ७ पुस । नेपाल जेसीजले यसवर्षको उत्कृष्ट राष्ट्रिय युवा पुरस्कारबाट सामाजिक अभियन्ता, नाट्यकर्मी एवम् परिवर्तन थिएटरकी संस्थापक कविता नेपाललाई सम्मानित गरेको छ । शनिबारदेखि इटहरीमा सञ्चालन भएको तीन दिवसीय ५१ औँ जेसीज राष्ट्रिय महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पुरस्कृत गरेका थिए । पुरस्कारको नगद रु २० हजार र सम्मान पत्र रहेको छ ।
जातीय छुवाछुत मुक्त अभियान र समाज रुपान्तरणमा पुऱ्याएको योगदानका लागि नाट्यकर्मी नेपाललाई उक्त पुरस्कार प्रदान गरिएको बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँले बताए । सोही अवसरमा नेपाल जेसीजले राष्ट्रिय महिला क्रिकेटकी कप्तान रुविना क्षेत्रीलाई पनि सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री ओली र नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय अध्यक्ष रविन पोखरेलले दुवै जना प्रतिभाहरुलाई सम्मान गरेका थिए । पुस ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय महाधिवेशनले वर्ष २०२५ का लागि नयाँ नेतृत्व चयन गर्दैछ ।